छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै, वस्तुको मूल्य उच्च हुँदा उपभोक्ता मारमा
राजविराज (सप्तरी),कात्तिक २० । छठमा प्रयोग गरिने वस्तुको मूल्य उच्च हुँदा उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुँडाको सामानको मूल्य दोब्बर भन्दा बढीले आकाशिएको छ । मूल्यवृद्धिमा कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।
यस्तै राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आजदेखि सजाउन थालिएको छ । विजयादशमी र दीपावली सकिएलगत्तै छठपर्व शुरू भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन बिहानदेखि स्थानीय सरसफाइमा जुटेका छन् ।
सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौँदेखि थुप्रिएका फोहोर सफाइ गरी छठ मनाउन घाट निर्माण गरिरहेको राजविराज नगरपालिका–३ निवासी लालु रजकले बताए । यहाँ सफाइ गरिएका पोखरीमा कागज, केराको थाम र अशोकको पत्ता तथा विद्युतीय बत्तीबाट सजाउने काम भइरहेको उनले जानकारी दिए । ग्रामीण क्षेत्रका जलाशयहरुमा समेत पूजाघाट बनाइ सजाउने काम भइरहेको छ ।
हनुमानगर बजारमा युवाहरु आज बिहानदेखि पोखरी सफाइमा लागेको स्थानीय राजेन्द्र मिश्रले बताए । भारदहस्थित कोशी ब्यारेजमा सफाइ तथा घाट सजाउने काम भइरहेको छ । यहाँ भारतको सुपौल जिल्लाको वीरपुर, भीमनगरलगायत विभिन्न सहरका सर्वसाधारण छठपर्व मनाउन प्रत्येक वर्ष आउने गरेका छन् । छठ शुरू भएपछि बजार तथा ग्रामीण क्षेत्रमा रेडियो र साउन्ड सिस्टमबाट छठी मैयाको महिमाका भोजपुरी र मैथिली गीत गुञ्जिन थालेका छन् ।