इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
इस्टफ्लोरेन्स,कात्तिक १९ । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।
फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।
ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याँक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाहरूले आफूहरू भयभीत भएको बताएका छन् ।
इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताउनुभएको छ । उहाँका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ ।
एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ । ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् ।