सडक पेटीमै जन्मियो बच्चा
सर्लाही,कात्तिक १८ । सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा बेवारिसे एक महिलाले सडक पेटीमै बच्चा जन्माएका छन् ।
नाम, ठेगाना खुल्न नसकेको र मानसिक सन्तुलन समेत ठिक नरहेको महिलाले आइतबार बिहान करिब ७ बजे शिशु (छोरी) लाई जन्म दिएकी हुन् । मागेर खाँदै हिँड्ने महिलाले सडक पेटीमै बच्चा जन्माएको भनी स्थानीयले खबर गरेपछि तत्काल नवलपुर चोकमा पुगेर महिला र नवजात शिशुको उद्धार गरिएको लालबन्दी नगरपालिकाको विपद् तथा वातावरण शाखामा कार्यरत सुरेन्द्र खतिवडाले जानकारी दिए ।
सुत्केरी महिलालाई नगर अस्पताल लालबन्दी ल्याएर सामान्य उपचारपश्चात् थप उपचारका लागि जनकपुरतर्फ पठाइएको खतिवडाले बताए । महिलाले जन्माएको शिशु स्वस्थ रहे पनि सुत्केरीको शरीरबाट साल छुट्टिन बाँकी रहेकाले सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्न आवश्यक रहेको नगर अस्पताल लालबन्दीले जनाएको छ ।
महिलाको थप उपचार प्रदेश राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा हुनेछ । सुत्केरी महिला र नवजात शिशु दुवैलाई राख्न मानव सेवाश्रम तयार भएकाले उपचारपश्चात आश्रमकै जिम्मा लगाउने तयारी रहेको खतिवडाले बताए ।
आइतबार बिहान चिसोको समयमा बेवारिसे महिलाबाट सडकमा शिशु जन्मिएको खबर पाएपछि लालबन्दी नगरपालिका–१, का वडाध्यक्ष हरिहर भट्टराई, नगरपालिकाको विपद् तथा वातावरण शाखाका कर्मचारी खतिवडा, सुरक्षाकर्मीलगायत भएर आमा र शिशु दुवैको उद्धार गरेका हुन् । सडक पेटीबाट उद्धार गरिएकी महिलाले आफ्नो नाम कृष्णा र घर भारतको अरैया बताए पनि त्यसको पुष्टी हुन सकेको छैन् ।