पिकअप दुर्घटनामा देउसी भैलो खेल्न हिँडेका १० जना घाइते



नवलपरासी,कात्तिक १७ । नवलपरासीको सुस्ता गाउँपालिका-३ विगेपको भित्रि सडकखण्डमा देउसे भैलिनी लिएर गइरहेको पिकअप गाडी अनियन्त्रित भएर सडकछेउ पल्टँदा १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते हुनेमा नवलपरासीको सुस्ता-२ गुदारिया बस्ने वर्ष १६ की सृस्ति मुखिया‚ वर्ष १९ की मन्जु महत्तो, वर्ष २१ की रेखा महतो‚ वर्ष २१ का बैजनाथ गुप्ता,  जितराम मुखियाकी १४ वर्षीया छोरी लक्ष्मी मुखिया‚ बसन्त मुखियाको १६ वर्षीया छोरी वर्षा मुखिया‚ डिल्ली मुखियाकी १८ वर्षीया छोरी कविता मुखिया‚ राजुकुमार मुखियाकी १५ वर्षीया छोरी तिलकुमारी मुखिया‚ २३ वर्षीय विवेक चौधरी र सिता मुखियाको १३ वर्षीय छोरा ईशान्त मुखिया रहेका छन्।

उक्त लु ३ च ६०२२ नं को पिकअप गाडी गुडरियाबाट नर्सहीतर्फ गइरहेका वेला दुर्घटनास्थलमा बाटोमा हिँडिरहेको बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भएर साँझ करिब साढे ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त गाडीमा २५ जना देउसे भैलिनी सवार रहेको जनाइएको छ।

प्रहरीका अनुसार घाइतेहरुको चौपत्तास्थित शहीद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्