सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल



काठमाडौ,कात्तिक १६ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताएका छन् । एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन्  ।

सहकारी ठगीमा एमाले भित्रकै कोही भए पनि कारबाही हुने उनको भनाइ छ । ‘दोषी हाम्रै पार्टीभित्रको कोही छ भने पनि ऊ दण्डको भागीदार हुन्छ र हुनुपर्दछ, एमाले यसमा दृढ छ’ पोखरेलले भने ।

हिजो एमालेलाई फत्तुर लाउनेहरू प्रधानमन्त्री केपी ओलीलाई पशुपतिको जलहरीमा सुन होइन, पित्तल लगाएको भन्नेहरू थिए, यस्ता फत्तुर लाउनेहरू छन्, अनेक खालका कुराहरू गर्छन् । तर हामी तिनीहरूको सामुन्ने ठिङ्ग उभिएर जवाफ दिन तयार छौँ, हामीले गल्ती गर्दैनौँ, गल्ती गर्नेहरूलाई दण्डको भागीदार बनाउछौँ । यो एमालेको अठोट हो र सङ्कल्प हो’ उनले भने । 

सहकारी छानबिन समिति बनाउँदा व्यक्ति तोकेर बनाउन नहुने एमालेले अडान लिएको पनि उनले स्मरण गराए । रास्वपा सभापति रवि लामिछानेकै सहमतिमा सो छानबिन समिति बनेको बताउँदै समितिले छानबिन गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेकाले अहिले सोही सिफारिसको आधारमा लामिछाने पक्राउ परेको पोखरेलले स्पष्ट पारे ।

 ‘यो प्रक्रिया अगाडि बढिरहँदा यसको बारेमा किन हल्लीखल्ली ? लोकतन्त्रका विश्वास गर्ने, सार्वजनिक जीवनमा बाँचिरहेको कोही पनि व्यक्तिमाथि प्रश्न उठ्छ भने ऊ छानबिनको दायरामा आउनु पर्दछ, अभियोजन हो भने त्यसलाई स्वीकार गर्नुपर्दछ’ पोखरेलले भने । 

पोखरेलले मुलुकलाई निकास दिन एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्नु परेको पनि बताए । मुलुकलाई थप संकटमा फस्न नदिन एमाले–कांग्रेस एक ठाउँमा उभिनु परेको उनको भनाइ छ ।   

कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बरालले मुलुकको विकास र राष्ट्रियताको सच्चा पहरेदार एमाले भएकाले देशी, विदेशी तत्त्वहरूबाट पार्टीलाई चौतर्फी प्रहार हुन थाले पनि डटेर सामान गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्