सिन्धुपाल्चोकका पहिरो पीडितलाई कम्बल र ज्याकेट सहयोग



सिन्धुपाल्चोक,कात्तिक १६ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई कम्बल र २२ जना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ ।

फि्युचर अफ होप नामक संस्थाको सहयोगमा पत्रकार तथा सामाजिक अभियन्ता निरोज तोलांगेको पहलमा पहिरो पीडितलाई सिरक र ज्याकेट वितरण गरिएको हो । उनीहरू बस्दैआएको कुनेगाउँमै पुगेर सो संस्थाकी संस्थापक अध्यक्ष अनिला थापा, विपद् व्यवस्थापन निर्देशक कवि थापा, अभियन्ताहरू तोलांगेले सो सामग्री वितरण गरेका हुन् । 

तोलांगेको पहलमा चेन्ज फर होप नेपाल र प्रशंसा सामाजिक सेवा नामक संस्थाबाट केही साताअघि सोही विस्थापित बस्तीका १२ घरधुरीलाई दाल, चामल, तेल, नुन, चिउरालगायतका खाद्यान्न वितरण गरिएको थियो । 

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुनेगाउँको ३ घर पहिरोले बगाएको थियो । साथै त्यस घरमा रहेका ४ जनालाई पहिरोले पुरेको थियो । सो घरमा रहेका ४५ वर्षीया चित्रबहादुर मिजार, उहाँकी ४५ वर्षीया धर्मपत्नी ठुलीकान्छी मिजार र पाहुना लाग्न आएका जुगल गापा–४ का अविनाश नेपाली र उहाँका ५ वर्षीय छोरालाई घरसहित पहिरोले बेपत्ता बनाएको थियो । 

सुरक्षाकर्मीको खोजतलासपछि चित्रबहादुर र बालकको शव फेला परेको थियो । ठुलीकान्छी र अविनाश अझै उक्त पहिरोमा बेपत्ता छन् । पहिरोमा परेर १२ घरधुरी दलित समुदाय विस्थापित अवस्थामा छन् । पहिरोले १२ घरको जग, जमिन, जग्गा, आँगनसम्म चिरा परेका अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्