श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा
काठमाडौं,कात्तिक १६। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण औंसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । लक्ष्मी पूजाका लागि बिहीबार साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो एवं अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइएको थियो । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ ।
दीपमालिकासमेत गरेर मनाइने पर्वमा दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मीपूजापछि कन्याकेटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने गरिन्छ । बिहीबार घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।
घरका अलावा व्यापारिक प्रतिष्ठानमा विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौं उपत्यकालगायत प्रमुख सहर उज्यालोले झिलीमिली बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्लासमय बनेको छ । उपत्यकामा दसैंको भन्दा बढी नै चहलपहल देखिएको छ । यसैले गएको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो ।
बिहीबार साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो,” उनले भने ।
कर्णाली प्रदेशको खसराज्यमा शासन गरेका बलिराजाले नै भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको छ । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहीबार बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । बिहीबार विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ । रासस