तिहारमा माइती आउजाउ गर्ने चेलीलाई निःशुल्क बाइक सेवा
खोटाङ,कात्तिक १५ । खोटाङमा युवाहरुको समुहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुराइदिने युवाहरुको अभियान रहेकोछ ।
गत दसैँबाट सुरु भएको यो अभियान तिहारमा पनि निरन्तरता दिने समूहले जनाएका छ । दसैँमा आपतविपत्मा परेकालाई गन्तव्यसम्म पुराउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताए । दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जना बढीले सेवा पाएका थिए ।
“दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा करिब १० जना युवाहरु जेडिएका छन् । अझै जोडिनेक्रम जारी रहेको संयोजक राईले बताए । नेपालीको महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीलाई निःशुल्क मोटरसाइकलमा पुराइदिने उनको भनाइ छ ।
माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण चेली माइतीघर जान नसक्ने अवस्था भएमा आफ्नो टिमलाई सम्झन सकिने राईले बताए । खोटाङका विभिन्न ठाउँहरुमा ३५ किलोमिटर भित्रसम्म यो टिमले निःशुल्क सेवा दिने जनाएको छ ।
कात्तिक १६ गते शुक्रबार चेलीहरुलाई माइतीको घरसम्म पुराउने र १९ गते पुनः घरसम्म ल्याइदिने संयोजक राईले बताए । सरकारी सेवा सुविधा लिइरहेकालाई भने सेवा उपलब्ध हुने छैन् ।
यस अभियानमा जोडिएर सेवा दिइरहेका मोटरसाइकल चालकलाई दिक्तेल रत्नपार्कस्थित शुभम क्याफेले निःशुल्क खाना खुवाउने क्याफेका सञ्चालक सूर्य राईले बताए । यस्तै, खोटाङ महिला उद्यमी संघ, व्यवसायी आशिस थापा लगायत अन्य संघ संस्था र ब्यक्तिहरुले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।