दश दिनको फरकमा चार गैँडा मृत फेला
नारायणगढ,कात्तिक १५ । दश दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जले बुधबार प्रेस विज्ञप्ति जारी गरेर कात्तिक ५ देखि १३ गतेसम्म चार वटा गैँडा मृत फेला परेको जनाएको हो ।
कात्तिक ५ गते निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने पूर्वि नवलपरासीको मध्यविन्दू नगर पालिकामा रहेको दाउन्नेदेवी सामुदायिक बन क्षेत्रमा अन्दाजी २० वर्षको पोथी, कात्तिक ६ गते निकुञ्ज भित्रकै कोलकता टापुमा उमेर नखुलेका एउटा बच्चा र एउटा बयस्क गैँडा र कात्तिक १३ गते निकुञ्जको भिम्ले पोष्ट नजिकको पोकली घोलमा २५ वर्षको पोथी गैँडा मृत फेला परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निकुञ्जको कोलकत्ता टापुमा फेला परेका दुई गैँडा बाढीका कारण मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए । दाउन्ने देवी सामुदायिक वनमा फेला परेको मृत गैँडा कालगतिले मरेको र पोकली घोलमा मृत भेटिएको गैँडा दलदलमा भासिएर मरेको पनि उनले जनाए ।
यस्तै, विज्ञप्तिमा निकुञ्जमा अनाधिकृत प्रवेश गरेका ३ जना, बालुवा चोरी निकासी गरेका ४ जना, तियारी जाल प्रयोग गरि माछा मारेको अभियोगमा ३ जना पक्राउ गरेको उल्लेख छ ।
निकुञ्जले नवलपरासी विनय त्रिवेणी गाउँ पालिका वडा नम्वर १ वस्ने वर्ष ६२ का जितबहादुर थिङको बाघको आक्रमणबाट मृत्यु भएको जनाएको छ ।