स्कटल्यान्डमाथि नेपालको सहज जित
काठमाडौ,कात्तिक १४ । नेपालले आइसिसी विश्वकप लिग-२ मा साविक विजेता स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।
अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो । नेपालले लिगमा आठ महिनापछि जित निकालेको हो । लिग-२ मा यसअघि नेपालले घरेलु मैदानमा गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई एउटा खेलमा हराएको थियो ।
जितका लागि एक सय ५५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि आरिफ शेखले ४२ बलमा आठ चौकाको मद्दतले अविजित ५१ रन बनाए । गुलशन झाले अविजित २५, कुशल भुर्तेलले २५, आसिफ शेखले २१ र अनिल साहले १३ रन बनाए ।
बलिङमा स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले दुई विकेट लिए । ब्राण्ड करी, मार्क वाट र ज्याक जार्विसले एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ३४ रन बनाए । कप्तान रिची बेरिङ्गटन र माइकल जोनसले १९/१९, ब्रेन्डन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५ र माइकल लिस्कले १४ रन बनाए ।