चलचित्र प्रदर्शनमा ‘सो’ को विवाद !
काठमाडौ,कात्तिक १४ । अभिनेता, निर्माता एवं चलचित्र निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ लाई हलले राम्रो ‘सो’ नदिएको भन्दै चलचित्रलाई ओटिटी प्लेटफर्ममार्फत प्रदर्शनमा ल्याएका छन् । आफ्नो चलचित्रलाई दर्शकले मन पराए पनि हलवालाले पर्याप्त ‘सो’ नदिएको भन्दै उनले ओटिटीको विकल्प खोजेका हुन ।
नेपाली चलचित्रले राम्रो प्रतिक्रिया र ‘अकुपेन्सी’ पाउँदापाउँदै पनि बलिउड चलचित्रलाई प्राथमिकतामा राखेको उनको गुनासो थियो । “उनका अनुसार हलवालाले चलचित्र प्रदर्शन भएको पहिलो हप्तामा तीन सयभन्दा बढी ‘सो’ दिएका थिए । त्यो समयमा चलचित्र जोकरबाहेक अन्य चलचित्र प्रदर्शनमा नआएकाले आफूहरूले त्यति ‘सो’ पाएको उनको भनाइ छ । दोस्रो हप्तामा तीन वटा चलचित्र प्रदर्शन भए र यी तीन वटाले ‘सो’ पाएपछि ‘बेहुली फ्रम मेघौली’ लाई नेपालभर नै २५ देखि २७ ‘सो’ मात्र उपलब्ध गराइयो,” उनले भने । अघिल्लो दिनसम्म हाउसफुल चलिरहेको चलचित्र एकैचोटि ३३५ ‘सो’ बाट २७ ‘सो’ मा झार्दा विकल्प खोज्नु परेको बाध्यता उनले सुनाए ।
चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनको भनाइ भने केही भिन्न छ । उनी भन्छ्न, “चाडपर्वको समय त्यसमाथि एकै पटक तीन वटा चलचित्र प्रदर्शन हुनु यसको मुख्य कारण हो । चलचित्रमा जसको धेरै अकुपेन्सी देखिन्छ त्यसले नै ‘सो’ पाउने हो । बेहुली फ्रम मेघौलीलाई हलले राम्रो ‘सो’ उपलब्ध गराएको पनि हो तर नाम चलेका कलाकार अभिनित तीन चलचित्र एकसाथ प्रदर्शनमा आएकाले बस्नेतको चलचित्रले पर्याप्त ‘सो’ नपाएको हो ।” हप्तामा एउटा मात्र चलचित्र प्रदर्शन हुने हो भने ‘सो’ त प्रशस्तै पाइन्छ महर्जन बताउछन् । एउटा नेपाली चलचित्रलाई मात्र ‘सो’ दिएर अन्यलाई नदिने कुरा नहुने उनको तर्क थियो ।
चाडपर्वको समयमा पाइने ‘सो’ लाई अति महत्वपूर्ण मानिन्छ । यो समयमा हलमा दर्शकको ओइरो लाग्छ तर यही समयमा नेपाली चलचित्रलाई हल मालिकले पर्याप्त ‘सो’ उपलब्ध नगराउने गरेको निर्माताहरूको गुनासो छ । रञ्जना हलका प्रबन्धक शशाङ्मान सिंह ‘सो’ उपलब्ध नगराउने कुरा गलत भएको दाबी गर्छन । एकै पटक धेरै चलचित्र प्रदर्शनमा आएपछि हलवालाले जुन चलचित्रले राम्रो अकुपेन्सी पाएको, त्यसैलाई बढी ‘सो’ उपलब्ध गराउने बताउछन् । रञ्जनामा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ ले राम्रो ‘सो’ पाएको थियो । उनका अनुसार, ‘बेहुली फ्रम मेघौली’ र ‘ज्वाइँ साब’ मा पनि दर्शकको चाप राम्रो हुँदासम्म ‘सो’ राम्रो नै दिइएको थियो । उनले भने, “हामीले हलमा आउने दर्शक हेरेर उनीहरूको माग अनुसार चलचित्रको ‘सो’ बाँडफाँट गर्ने हो ।”
वितरक मनोज राठी भन्नुहुन्छ, “चलचित्रको ट्र्याक रेकर्ड हेरेर हलवालाले ‘सो’ बाँडफाँट गर्ने हो । छक्का पञ्जाले धेरै ‘सो’ पाउनुको कारण चलचित्रको अघिल्ला चार वटै सिरिजले उल्लेख्य व्यापार गरेको थियो । उनका अनुसार ‘१२ गाउँ’ ले राम्रो र ‘ज्वाइँ साब’ ले अलि कम ‘सो’ पाएको हो । वितरक राठी भन्छन, “बेहुली फ्रम मेघौली’ ले पहिलो हप्तामा नै ठिकठिकै व्यापार गरेको थियो । तीन वटा चलचित्र प्रदर्शनमा आएपछि ‘सो’ कम भएको हो ।” चलचित्र १२ गाउँले अप्रत्याशित व्यापार गरेपछि पनि ‘सो’ मिलाउन समस्या भएको हुन सक्ने राठीको भनाइ छ । हलले जुन चलचित्रले राम्रो व्यापार गर्छ त्यसैलाई बढी ‘सो’ दिने नियम जस्तै भनेको उनले बताए ।