चाडपर्वमा विद्युतीय उपकरण किन्ने उपभोक्ता बढे



काठमाडौं,कात्तिक १४। चाडपर्वको समयमा घरायसी विद्युतीय उपकरणमा उपभोक्ताको आकर्षण बढ्दो छ । दशैं, तिहारको समयमा यस्ता वस्तु किन्ने उपभोक्ता बढेको व्यापारीहरूले बताएका छन् । व्यवसायीहरूले यतिबेला विभिन्न ब्राण्डका रेफ्रिजेरेटर, टेलिभिजन, वासिङ मेसिन जस्ता सामानमा चाडपर्व लक्षित छूट अफर समेत ल्याएपछि उपभोक्ताले यस्ता वस्तु किन्न थालेका हुन् ।
 
दशैं अघिदेखि नै बजारमा यस्ता वस्तु किन्नेहरूको चहलपहल बढेको छ । चाडपर्वको समयमा साधारण किराना पसलदेखि ठूला मलसम्मका इलेक्ट्रोनिक्स पसलमा फ्रिज तथा रेफ्रिजेरेटरको कारोबार बढेको सुन्धारास्थित एके इलेक्ट्रोनिक्स टे्रडर्सका सञ्चालक नविनकुमार केसीले बताए ।

केसीका अनुसार दशैं, तिहार जस्ता चाडपर्व र विवाहको लगन जुर्ने महीनामा फ्रिज, टेलीभिजन र वासिङ मेसिन जस्ता वस्तुको विक्री धेरै हुने गर्दछ । ‘चाडपर्वलाई लक्षित गरेर छूट अफर दिइएको छ । त्यसकारण पनि मङ्सिर महीनामा हुने विवाहका लागि समेत कतिपय ग्राहकले अहिले नै किनेर राख्ने गरेका छन् । अघिपछिको भन्दा यो समयमा यस्ता वस्तुको विक्री बढ्ने गर्दछ । किनभने चाडपर्व सकिएलगत्तै मङ्सिरमा विवाहको सिजन पनि शुरू हुन्छ । त्यसकारण अहिले नै किन्ने हुँदा विक्री बढेको हो,’ केसीले भने ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो तीन महीनामा १ अर्ब ९० करोड ५२ लाख ७० हजार रुपैयाँको रेफ्रिजेरेटर आयात भएको देखिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही समयावधिको भन्दा बढी हो । 

गत आवको पहिलो तीन महीनाको आयात अवस्था हेर्दा टेलिभिजन आयात केही घटेको देखिएको छ भने रेफ्रिजेरेटर र वासिङ मेसिनको आयात तुलनात्मक रूपमा वृद्धि भएको देखिन्छ ।

केसीका अनुसार सिंगल डोर, डबल डोर तथा साइड वाइड साइड र लार्ज गरी विभिन्न आकार प्रकारका रेफ्रिजेरेटर बजारमा उपलब्ध छन् । त्यसमध्ये सिंगल तथा डबल डोर नै खोज्ने ग्राहक बढी आउने गर्दछन् । समयसँगै रेफ्रिजेरेटर डिजाइन र विशेषताहरू पनि थपिँदै गएका छन् । विगतको समयमा बजारमा उपलब्ध हुने रेफ्रिजेरेटर र अहिलेको रेफ्रिजेरेटर हेर्दा निकै भिन्नता भेट्न सकिन्छ ।

त्यसैगरी, विभिन्न क्याटेगोरीका एलइडी टिभी सुपर युएचडी टिभी, युएचडी टिभी, स्मार्ट टिभी तथा नर्मल एलइडी टिभीहरू बजारमा उपलब्ध भए पनि उपभोक्ताले आफ्नो बजेट अनुसारको सामान बढी खोज्ने गर्दछन् ।

नेपाली बजारमा आधा दर्जनभन्दा बढी ब्रान्डका वासिङ मेसिन पाइन्छ । तर, सामसुङको वासिङ मेसिन सबैभन्दा धेरैले रुचाउने गरेको न्युरोडस्थित न्युरोड इलेक्ट्रोनिक्स पसलका एक व्यापारीले बताए । उनका अनुसार उपभोक्ताले आफ्नो परिवारका सदस्य संख्या, लुगा धुँदा त्यसबाट आउने आवाज र भाइब्रेसन समेतलाई ध्यानमा राखेर वासिङ मेसिन किन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्