कैलालीको टीकापुरमा ३८ वर्षपछि विमान उडान
जानकी (बाँके),कात्तिक १३ । कैलालीको टीकापुरमा सोमबार विमानको परीक्षण उडान गरिएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ ।
आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको नाइनएनएबीयु कल साइनको र तारा एयरकोनाइनएन÷एईभी कलसाइनको विमान परीक्षण उडान गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुणकुमार चौधरीले तिहारलगत्तै नियमित विमान सञ्चालन गरिने बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा नियमित विमान सञ्चालन गरिनेछ ।
स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए । तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थलमा द्वन्द्वकाल शुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो ।
झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमानस्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ ।
परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल एयरलाइन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवालसहित म्यानेजर ज्ञानेन्द्र भूल, इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो । रासस