दुग्ध पदार्थ आयातमा प्रतिबन्ध : तारे होटेलहरूलाई स्तरीय परिकार बनाउन समस्या
काठमाडौं,कात्तिक ११ । सरकारले विगत ९ महीनादेखि नौ प्रकारका विदेशी दुग्ध पदार्थको आयातमा लगाएको प्रतिबन्धले विदेशी पर्यटकले चाहेअनुसार दुग्ध पदार्थका विभिन्न परिकार बनाउन गार्हो भएको पाँचतारे होटेलहरूले बताएका छन् । उनीहरूका अनुसार प्रतिबन्धित दुग्ध पदार्थ खैरो (ग्रे) बजारमा उपलब्ध छ तर तिनको गुणस्तरमा ढुक्क हुन सक्ने अवस्था छैन । मूल्य पनि बढी तिर्नुपरेको व्यवसायीको भनाइ छ ।
तारे होटेलहरूमा उच्च गुणस्तरको नौनी (बटर), मोजरेला र फ्रेन्च चिजहरू खपत हुन्छन् । ‘अहिले आयात रोकिँदा हामीले विकल्पको रूपमा स्थानीय उत्पादन नै प्रयोग गरिरहेका छौं,’ चन्द्रागिरि हिल्स (रिसोर्ट) का एक्जुकेटिभ सेफ जीवेश पोखरेलले भने, ‘तर, स्वदेशी उत्पादनको गुणस्तर हामीले पहिले प्रयोग गरिरहेको जति छैन ।’ उनले गुणस्तरीय चीज उपलब्ध नहुँदा पर्यटकले चाहेअनुुसारको गुणस्तरीय पिज्जा दिन गाह्रो भएको बताए । नेपालमा गुणस्तरीय दुग्ध पदार्थ आपूर्ति गर्न सक्ने केही डेरीहरू भए तापनि तिनले मागअनुसार आपूर्ति गर्न नसकेको उनको भनाइ छ ।
‘अहिले हामीलाई चीज बटर आपूर्ति गर्ने डेरी उद्योगको उत्पादन सीमित छ । स्रोतसाधन कम हुँदा पर्याप्त मात्रामा आपूर्ति गर्न सकेका छैनन् । दुग्ध विकास संस्थानको बटर, घिउ राम्रो छ, तर निजीक्षेत्रलाई ऋणमा दिने र राम्रोसँग आपूर्ति गरिदिने प्रणाली नै छैन,’ पोखरेलले भने । उनका अनुसार चन्द्रागिरि हिल्स (रिसोर्ट) मा दैनिक १० किलो बटर खपत हुन्छ ।
सरकारले गतवर्षको फागुन ३ गते विभिन्न नौ किसिमका दुग्धजन्य पदार्थको आयातमा रोक लगाउने घोषणा गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फागुन ३ गते खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई ‘दूध तथा दुग्ध उत्पादनको आयात स्थगन सम्बन्धमा’ लेखेको पत्रअनुसार विभिन्न एचएस कोड भएका नौ किसिमका दुग्धजन्य वस्तु आयातमा रोक लगाउने भनिएको छ । यसमा बटरदेखि चीज, चिल्लो हटाइएको दूधलगायत वस्तु छन् । पैठारीमा पूर्ण रोक लगाइएका वस्तुमा चिल्लो हटाइएको दूध (स्कीम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्ल्यूएमपी), एसएमपी, ह्वे र परिवर्तित ह्वे, जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको गुलियो पारेको वा नपारेको, नौनी (बटर), घिउ, छुर्पी, प्रशोधित, भुजुरी वा धूलो नपारेको चिज, भुजुरी पारेको वा धूलो पारेको सबै प्रकारका चिज छन् ।
पोखरेलका अनुसार सरकारले दुग्धजन्य ती वस्तुको आयात रोके पनि बजारमा भने उपलब्ध हुने गरेको छ । साविकमा प्रतिकिलो १ हजार २०० रुपैयाँ अमूल बटर किन्दै आएको भए पनि ग्रे मार्केटमा त्यसको मूल्य १ हजार ६०० रुपैयाँ पर्ने गरेको चन्द्रागिरि हिल्सका पोखरेलले बताए । सरकारले आयात प्रतिबन्ध लगाएपछि भारतको लोकप्रिय अमूलका दुग्ध पदार्थ र अन्य कम्पनीहरूका दुग्ध पदार्थको आयातमा निकै कमी आएको भन्सार विभागका तथ्यांक छ ।
पूर्णरूपमा रोक लगाइएकामध्ये एचएस कोड : ०४०६३००० भएको प्रशोधित भुजुरी वा धूलो नपारेको चिजको आयात शून्य छ । आयातमा पूर्ण रोक लगाएको भनिए पनि केही वस्तु औपचारिक रूपमा भन्सार प्रक्रिया पूरा गरेर आयात भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष (आव)को प्रथम त्रैमासको तुलनामा चालू आवको प्रथम त्रैमासमा आयात निकै कम रहेको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको स्रोतअनुसार ठूलो परिमाणमा विदेशी दुग्ध पदार्थ आयात गर्न रोकिएको हो । यद्यपि न्यूनतमदेखि सानो परिमाण (१०० ग्रामदेखि १ किलो) ल्याउन भने नरोकिएको स्रोतको भनाइ छ । यसले गर्दा ससानो परिमाणमा ल्याउँदा पूर्ण रूपमा रोक लगाइएका दुग्धजन्य पदार्थको आयात भएको देखिएको हो । विभागका उच्च अधिकारीले भने, ‘सरकारले पैठारीमा पूर्ण रोक लगाएका दुग्धजन्य पदार्थ आयातका लागि विभागले आयात परमिट (अनुमति) दिएको छैन ।’
यो प्रतिबन्धबाट भारतीय दुग्ध पदार्थको नेपाल निर्यात प्रभावित भएकाले नेपालमाथि दबाब बढाउन नेपालको सिमेन्ट, प्लाइउड, जस्तापाता, जुत्ताचप्पललगायत सामानको भारत निर्यातका लागि गुणस्तर प्रमाणपत्र दिन ढिलाइ गरेको सरकारी अधिकारीले बताएका छन् ।
भारतले औद्योगिक गुणस्तर प्रमाणपत्र दिन ढिलाइ गरेपछि नेपाली वस्तुको निर्यात, खासगरी सिमेन्टको निर्यात नराम्ररी प्रभावित भएकोे छ । गत आवको प्रथम ३ महीनामा १ लाख ५५ हजार २४८ टन सिमेन्ट निर्यात भएकोमा चालू आवको प्रथम ३ महीनामा १८ हजार ३०८ टन मात्रै सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । सरकारी अधिकारीहरूका अनुसार लामो समयदेखि दुग्ध पदार्थ आयातमा नेपालले लगाइरहेको प्रतिबन्ध फुकाउन भारतले अनुरोध गर्दै आएको थियो । अहिले भारतले नेपाली वस्तुमाथि गैरभन्सार अवरोध सृजना गर्न थालेपछि नेपाल सरकारले आयात प्रतिबन्ध फुकाउने प्रक्रिया अघि बढाएको कृषि मन्त्रालयका अधिकारीहरूले बताएका छन् । आयात प्रतिबन्ध स्वदेशी डेरी उद्योगहरूलाई संरक्षण गर्न गरिएको हो । नेपाली डेरी उद्योगले धूलो दुध, नौनीलगायत दुग्ध पदार्थ विक्री गर्न नसक्दा किसानको करीब ४ अर्ब रुपैयाँ बक्यौता तिर्न नसकेको भनी डेरी उद्यागीले भन्दै आएका छन् ।
तर, विदेशी पर्यटकलाई आकर्षित गर्ने हो भने उनीहरूले चाहेअनुसार डेरी उत्पादन नेपालका होटेलहरूलाई दिन सक्नुपर्ने होटेल सञ्चालकहरूको भनाइ छ । ‘नेपालमा चीज नबन्ने होइन, तर कतिपय विशेष चीज (पे्रmन्च, इटालियन), विशेषखालको बटर (नौनी) बन्दैनन्, जो नेपालमा आउने विदेशी पर्यटकले उपभोग गर्छन्,’ पाँचतारे होटेल म्यारियट काठमाडौंका सञ्चालक शशिकान्त अग्रवालले भने । ‘इटालियन पिज्जा खानेलाई त्यहीँको चीज दिनुपर्यो, नेपालको स्थानीय चीज प्रयोग गरिएको चीज विकल्पका रूपमा पर्यटकलाई दिन सकिन्छ, तर त्यही नै खाऊ भन्न त सकिँदैन । पर्यटकलाई रिझाउन उत्कृष्ट व्यञ्जन (कुजिन) दिने हो ।’
नेपालले अढाइ वर्षअघि विदेशी रक्सी, गाडी, महँगा मोबाइललगायत वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । विदेशी रक्सी बेच्न नपाउँदा होटेल सञ्चालकहरूले गुनासो गरेका थिए । अग्रवालले निषेधको व्यापारले समस्या हल नहुने बताए । स्वदेशी उद्योगलाई संरक्षण गर्नका लागि भन्सार बढाउन सकिने उनको तर्क छ । ‘आयात रोक्नुभन्दा पनि भन्सार १०, १५ देखि २० प्रतिशतसम्म बढाउँदा स्वदेशी उद्योगको संरक्षण भइहाल्छ ।’
ठूला तारे होटेलहरूको छाता संगठन होटेल संघ नेपाल (हान)ले भने चीज, बटरलगायत दुग्धजन्य पदार्थको आयात रोकिँदा परेको प्रभावका विषयमा औपचारिक रूपमा सरकारलाई अवगत गराएको छैन । हानका महासचिव साजन शाक्यले होटेल व्यवसायीहरूबाट अनौपचारिक रूपमा आयात प्रतिबन्धले प्रभाव परेको गुनासो भने आएको जानकारी गराए । ‘यस विषयलाई अघि कसरी लैजाने भन्ने विषयमा भने छलफल भइसकेको छैन ।’