“सरकारले गरिबी र भोकमरीबाट जनतालाई तड्पिन दिँदैन”



काठमाडौँ, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गरे । “हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीसँग तड्पिन दिँदैनौँ । त्यसका लागि अहिलेको सरकार बनेको हो ।’’

कोप–२९ मा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइनेछ

यसैगरी, प्रधानमन्त्री ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९)  हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने बताएका छन् ।

उनले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ प्रभावकारी रूपमा  सशक्तरुपमा उठाउन तयारी भएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको स्पष्ट अडान र दृष्टिकोणलाई कोप–२९ मा राख्न गरी तयारी गर्ने निर्णय गरेको थियो । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले नेपालमा हिमालहरुले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरु जोगाउनु र  नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्