डेडिकेटेड र ट्रंक लाइन विवादः आजैदेखि काटियो ४४ उद्योगको बिजुली



काठमाडौं,कात्तिक ८ । डेडिकेटेड र ट्रंक लाइन बापतको महसुल नबुझाउने उद्योगको लाइन फेरि काट्न थालिएको छ । नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने उद्योगको लाइन काट्न सुरु गरेको हो । महसुल नबुझाएका मध्ये ४४ वटा उद्योगको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

४९ वटा उद्योगहरुलाई प्राधिकरणले गत असोज २४ गते बिहीबार (कात्तिक ८ गते) सम्म बक्यौता तिर्न अल्टिमेटम दिइएको थियो । तर, उद्योगहरुले महसुल नबुझाएपछि प्राधिकरणले लाइन काट्न सुरु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज साँझ ५ बजेसम्म एउटा किस्ता बुझाउन उद्योगीहरु निरन्तर दबाब दिइरहेका थिए । तर, उद्योगीहरुले महसुल नतिरेपछि लाइन काट्न सुरु गरेको हो । ४९ वटा मध्ये पाँच वटा बाहेकका अन्य उद्योगहरुको लाइन काट्न सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले २८ वटा किस्ता बक्यौता महसुल तिर्न सकिने सुविधा दिएको थियो । सोही अनुसार ५ वटा उद्योगले किस्ता बुझाएका थिए । ती बाहेकका अन्य ४४ वटा उद्योगहरुले भने महसुल बुझाउन अटेर गरेपछि लाइन काट्न सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

बिहीबार नै निर्देशक घिसिङले उर्जा मन्त्री दिपक खड्कासँगको छलफलमा लाइन नकाट्ने हो भने मन्त्रिपरिषदले लिखित निर्णय दिनुपर्ने बताएका थिए । तर, लिखित निर्णय नदिएपछि लाइन काट्न थालिएको घिसिङले अर्थपथलाई बताए । ‘सरकारले लाइन नकाट्नका लागि कुनै पनि लिखित निर्णय नदिने, महसुलको जोखिम प्राधिकरणका कर्मचारीको थाप्लोमा राखिदिने ? कर्मचारी कसरी बोक्न सक्छ यति ठुलो ऋणको भारी ?’ उनले भने,‘लेखा समितिले भने बक्यौता महसुल उठाएन भनेर प्राधिकरणको नेतृत्वमा माथि घाटी अठ्याउने काम गर्यो ।’

कार्यकारी निर्देशक घिसिङले लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएपनि मन्त्रिपरिषद् बैठकमा त्यस बारेमा कुनै निर्णय गरेको थिएन । सरकारले नै वेवास्ता गरेपछि लाइन काट्न सुरु गरिएको घिसिङको भनाई छ । महसुल नर्तिन उद्योगको लाइन आजै क्रमशः काटिने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्