लामिछाने र जोशीलाई सात दिन म्याद थप



पोखरा,कात्तिक ८ । पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने र जोशी दुवैविरुद्ध सात दिन म्याद थप भएको जानकारी दिए । कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई यसअघि गएको आइतबार अदालतले छ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएकोमा म्याद बुधबार सकिएको थियो । असोज ६ गते पक्राउ परेका जोशीको म्याद पनि बुधबारै सकिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रुपियाँ रकम अवैधानिक रुपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्यदर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवदेनले देखाएका छन् ।

सहकारीबारे संसदीय समितिको सिफारिसबमोजिम छानबिन गर्न लामिछाने र जोशीलाई पक्राउ गरिएको हो । लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र सहकारीपीडित दुवैले प्रदर्शन गरिरहेकाले अहिले पोखराको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्