मुख्य चाडबाडमै घट्यो आयात



काठमाडौँ, कात्तिक ८ । नेपालीहरूको मुख्य चाडबाड दसैँतिहारको समयमै आयात घटेको छ । दसैँतिहारका लागि खास गरी भदौ र असोजमा धेरै आयात हुने गरेकोमा यस वर्ष असोजमा भने आयात घटेको भन्सार विभागको तथ्याङ्क छ । 

विभागका अनुसार गत वर्ष असोजको तुलनामा यस वर्षको असोजमा करिब २० अर्ब रुपियाँले आयात घटेको छ । तथ्याङ्क अनुसार २०८१ असोजमा एक खर्ब २८ अर्ब २१ करोड रुपियाँको वस्तु आयात भएको छ । गत वर्ष असोजमा भने एक खर्ब ४८ अर्ब रुपियाँको वस्तु आयात भएको थियो ।

असोजमा मात्र होइन चालु आवको तीन महिनामा समग्र आयातनिर्यात नै घटेको छ । चालु आवको साउनदेखि असोजसम्म तीन खर्ब ९० अर्ब रुपियाँको वस्तु आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा चार खर्ब सात अर्ब ७५ करोड रुपियाँको वस्तु आयात भएको थियो । समीक्षा अवधिसम्म गत वर्षको तुलनामा आयात ४.१७ प्रतिशतले घटेको छ ।

चाडबाडको समयमा लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स, सवारीसहित अन्य उपभोग्य सामानको अत्यधिक कारोबार हुँदा भदौ र असोजमा आयात बढेको विगतमा देखिएको थियो । उपभोग घटेको र भन्सार महसुल बढ्दा आयात बढेको नदेखिएको व्यवसायीहरू बताउँछन् । 

नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष विनोदकुमार सेठियाले धेरै उपभोग गर्ने युवा जमात नै पलायन भएका कारण उपभोग्य वस्तुको आयात घटेको बताए । यसबाहेक दैनिक उपभोग्य वस्तुको भन्सार महसुल बढ्दा अवैध आयात पनि बढेकाले तथ्याङ्कमा आयात घटेको देखिएको उनले बताए। “एकातिर भन्सार महसुल बढ्दा स्थानीयले भारतीय बजारबाट सामान ल्याउने प्रवृत्ति बढेको छ,” उनले भने, “अर्कोतिर जसरी पनि राजस्व बढाउने दबाबमा व्यापारीलाई दुःख दिँदा समग्र व्यापार नै घटेको छ ।”

विगतमा उत्साहजनक रहेको निर्यात व्यापार पनि यस वर्ष आयात जस्तै खस्किएको छ । चालु आवका तीन महिनामा मुलुकबाट ३८ अर्ब ३७ करोड रुपियाँको वस्तु निर्यात भएको तथ्याङ्क छ । गत वर्ष सो अवधिसम्म ४० अर्ब ८७ करोड रुपियाँको वस्तु निर्यात भएको थियो । एक वर्षकै अन्तरमा निर्यात करिब साढे दुई अर्बले घटेको देखिन्छ । निर्यातमा उपलब्ध गराइने नगद अनुदान र मूल्य अभिवृद्धि कर समयमै फिर्ता नदिँदा निर्यातकर्ता निरुत्साहित भएर निर्यात घटेको व्यवसायीको अनुभव छ । 

तथ्याङ्क अनुसार असोजमा सबैभन्दा धेरै २२ अर्ब १५ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि १६ अर्ब ६२ करोड रुपियाँको पेट्रोल, १४ अर्ब छ करोड रुपियाँको एलपी ग्यास, १० अर्ब ७३ करोड रुपियाँका फलामे छड आयात भएको छ । निर्याततर्फ सबैभन्दा धेरै दुई अर्ब ८५ करोड रुपियाँको गलैँचा, एक अर्ब ७२ करोड रुपियाँको कालो चिया, एक अर्ब ५७ करोड रुपियाँको फेल्ट आयात भएको विभागको तथ्याङ्क छ । 

समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै भारतबाट दुई खर्ब ४० अर्ब ९२ करोड, चीनबाट ७८ अर्ब ६३ करोड, युक्रेनबाट छ अर्ब ५१ करोड, अस्टे«लियाबाट पाँच अर्ब ६१ करोड रुपियाँको आयात गरेको छ । त्यस्तै भारतमा सबैभन्दा धेरै २४ अर्ब ८५ करोड, संयुक्त राज्य अमेरिकामा चार अर्ब ७७ करोड, जर्मनीमा एक अर्ब २३ करोड र बेलायतमा एक अर्ब तीन करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्