ऊर्जामन्त्रीका १०० दिन : ऊर्जा क्षेत्रको विकासका लागि नयाँ मार्गचित्र तयार



काठमाडौं,कात्तिक ८ । वर्तमान सरकार निर्माण भएको १०० दिनको अवधिमा मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि ‘उर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको १०० दिनको अवसरमा बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने ऊर्जा उत्पादनका आन्तरिक स्रोतको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत खपत वृद्धि गर्न, अन्तरदेशीय विद्युत व्यापारका लागि सम्भाव्य प्रतिफल प्राप्त गर्न तथा राज्यको ऊर्जा क्षेत्रको योजनावद्ध विकासका लागि नयाँ मार्गचित्र तथा कार्ययोजना तयार गरी मन्त्रिपरिषदमा पेश गरिएको जानकारी दिए । 

ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न ४६ खर्बभन्दा बढी लागत लाग्ने बताए । उनले आफूले ऊर्जा मन्त्रालय सम्हालेको १०० दिनको अवधिमा देशभर परेको वर्षाका कारण ऊर्जा र सिंचाइ क्षेत्रमा ठूलो क्षति पुगेपनि वर्तमान सरकारको १०० दिनमा लक्षित क्रियाकलाप र अतिरिक्त क्रियाकलापतर्फ ९८ प्रतिशत लक्ष्य हासिल गरिएको उल्लेख गरे ।  

ऊर्जामन्त्री खड्काले १०० दिनको अवधिमा जल तथा मौसम विज्ञान नीति–२०८१ नेपाल सरकारबाट स्वीकृति भई कार्यान्वयनमा ल्याएको, जलस्रोत तथा सिंचाइ क्षेत्रमा अध्ययन अनुसन्धान कार्यका लागि मापदण्ड तयार गरी स्वीकृति गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको बताए ।  

वर्तमान सरकारको १०० दिनको अवधिमा गत असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभेलपमेन्ट बोर्ड एनटिपीसी विद्युत व्यापार निगम भारतबीच नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्नेसम्बन्धी त्रिपक्षीय विद्युत विक्री सम्झौतामा हस्ताक्षर भएको मन्त्री खड्काले बताए । यस्तै, सोही अवधिमा सुख्खा यामको विद्युत् मागलाई मध्यनजर गरी भारतसँग २३० मेगावाट विद्युत् आयातका लागि सम्झौतासमेत गरिसकिएको छ । 

यसैगरी, २२०/१३२/३३ केभी चिलिमे हब जिआईएस सबस्टेशन र २२०/१३२/३३ केभी त्रिशुली हब हाईव्रिड जिआईएस सबस्टेशन गरी दुई सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुका साथै मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट बाह्रबिसे सवस्टेशन सम्मको चार किलोमिटर २२० केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको बताइएको छ । 

ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन र ढल्केवर–लोहरपट्टी १३२ केभी प्रसारण लाइन एवम् १३२÷३३÷११ केभी सवस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको, थप २३४.५ एमभिए क्षमताको (बुर्तिवाङ ४६ एमभिए बाग्लुङ, पौडीअमराई ४६ एमभिए गुल्मी, लोहारपट्टी ८२.५ एमभिए महोत्तरी, मलेखु ६० एमभिए धादिङ) नयाँ सवस्टेशनको निर्माण कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ । 

यसैगरी, रसुवा जिल्लास्थित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, सिन्धुपाल्चोक जिल्लास्थित १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवास्थित ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याउन अन्तिम चरणमा रहेको बताइएको छ । 

यसैबीच, निजी क्षेत्रको लगानीमा ८८ मेगावाट जलविद्युत आयोजना सञ्चालनमा ल्याई राष्ट्रिय प्रसारण ग्रीडमा आवद्ध गरी विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ गरिएको बताइएको छ । 

सोही समयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत ३२.४ किलोवाट बराबर क्षमताको सौर्य खानेपानी तथा सिंचाइ पम्प जडान कार्य सम्पन्न भएको, केन्द्रमार्फत सुस्ता गाउँपालिकामा १०० किलोवाट क्षमताको सौर्य मिनीग्रिडबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जडान गरी करीब ३०० घरधुरीमा विद्युत सेवा सञ्चालन कार्य सम्पन्न भएको छ । 

यस्तै, जलस्रोत तथा सिंचाइ विभागबाट यस अवधिमा सतह तथा भूमिगत सिंचाइमार्फत थप करीब २६६ हेक्टर जमिनमा सिंचित क्षेत्र विस्तार, देशका विभिन्न नदी तथा खोलामा विभागबाट करीब ५ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न गरी करीब ४.५ हेक्टर जग्गा उकास भएको बताइएको छ । 

उक्त अवधिमा कैलालीमा अवस्थित रानी जमरा कुलरिया सिंचाइ आयोजनाबाट १४ हजार ३०० हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउनुका साथै ४.७१ मेवावाट क्षमताको विद्युत गृहसमेत सञ्चालनमा ल्याइएको मन्त्री खड्काले बताए । 

सोही अवधिमा ९२ वटा जलविज्ञान केन्द्रको तथ्याङ्क प्रशोधन सम्पन्न गरी देशभर अतिजन्य मौसम र बाढी सम्बन्धी पूर्वसूचना प्रवाहको सहज उपलब्धता सुनिश्चित गर्दै तथ्यांकको गुणस्तरीयतामा उल्लेखनीय वृद्धि गरिएको बताइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले मुलुकको आर्थिक वृद्धिको सम्वाहकको रूपमा रहेको ऊर्जा क्षेत्रलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमार्फत मुलुकलाई समृद्ध, सवल समुन्नत बनाउन आफूहरू लागिरहेको उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्