नयाँ इजरायली निकासी आदेशपछि लेबनानी नागरिकको भागाभाग



लेबनान,कात्तिक ७ । इजरायली सेनाले हजारौँ विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकारी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् ।

टायरको विपद् व्यवस्थापन एकाइका प्रमुख मोर्ताडा महन्नाले यहाँको अवस्था निकै खराब भएकाले तीव्र गतिमा मानिसहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको बताएका छन् । 

व्यवस्थापन एकाइका मिडिया अफिसर बिलाल काशमारले धेरैजना सहरबाट भागेर उपनगरतिर गएको बताएका छन्  । उनका अनुसार हाल सम्पूर्ण  टायर सहर खाली भएको छ ।

कयौँ पिडाहरूको सामना गरी बसेका केही परिवारहरूले पटक–पटकको इजरायली धम्की र निकासी आदेशका कारण ज्यान बचाउन आफ्नो घर छोड्न थालेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नु अघि टायरका बासिन्दाहरूलाई उक्त स्थान छोड्न आह्वान गरेपछि मानिसहरू तुरुन्तै भाग्न थालेको जनाएको छ ।

सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा टायरको प्रभावित क्षेत्रको नक्सासहितको फोटो पोस्ट गर्दै तुरुन्तै प्रभावित क्षेत्रबाट बाहिर निस्की जीवन खतराबाट जोगाउन आह्वान गर्नुभएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्