पाइप लाइनबाट पेट्रोल आयात, वार्षिक साठी करोड ढुवानी रकम बचत



काठमाडौ,कात्तिक ७ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट परीक्षणका लागि पेट्रोल ल्याइएको छ । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा परीक्षणका लागि पेट्रोल ल्याएको हो । निगमले अब मल्टी प्रोडक्ट पाइप लाइनमार्फत  डिजेल पेट्रोल र मटितेल ल्याउन लागेको हो । नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले पहिलो चरणमा परीक्षणका लागि पाँच हजार पाँच सय किलोलिटर पेट्रोल ल्याएको जनाएको छ । परीक्षणको क्रममा पहिलो पटक असोज १८ गते पेट्रोल नेपाल आइपुगेको छ । 

हाल बरौनीबाट ट्याङ्करमार्फत अमलेखगन्जसम्म पेट्रोल ल्याउने गरेको अब पाइप लाइनबाट आयात हुने छ । निगम अमलेखगन्ज कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले पाइप लाइनबाट पेट्रोल आयात गरी परीक्षण गरिरहेको जानकारी दिए । परीक्षण सकेर एक महिनापछि नियमित रूपमा पेट्रोल ल्याउने तयारी गरिएको उनले जानकारी दिए । 

हाल पाइप लाइनबाट डिजेल मात्र आयात गरिएकोमा अब पेट्रोल पनि नियमित रूपमा ल्याउन सुरुवात गरिएको कार्यालयले जनाएको छ । पाइप लाइनबाट डिजेल ल्याएपछि बिचमा पाइप लाइन कम्प्याट्रियल केरोसेन (पिसिके) मिसाएर पेट्रोल ल्याइने छ । पिसिके उच्च गुणस्तरको इन्धन भएकाले डिजेल पेट्रोल दुवैमा मिसाउन मिल्ने निगमले जनाएको छ । पेट्रोल र डिजेल पाइप लाइनमार्फत ल्याउँदा बिचमा पिसिके मिसाएर आयात गरिने अमलेखगन्ज कार्यालयले जनाएको छ । 

पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटरमा एक रुपियाँ ५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ । हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्करबाट आयात भइरहेको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँच देखि छ करोड रुपियाँ र वार्षिक रूपमा ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्