सहकारी ठगी प्रकरण : छविलालको बयान सकियो



भैरहवा, कात्तिक ७ । सहकारी बचत अपचलनमा पक्राउ परी कास्कीबाट रुपन्देही ल्याइएका पूर्वडिआइजी छविलाल जोशीसँग मङ्गलबार बयान लिइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको बयान लिने क्रम साँझ सकिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । बयान सकिएकाले जोशीलाई बुधबार दिउँसो कास्की पठाउने तयारी गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरी अधिकारीहरूले जोशीको बयान लिएका हुन् । बचत अपचलनमा पक्राउ परी कास्की प्रहरीकै हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने रुपन्देही ल्याउने योजना अहिलेसम्म नरहेको प्रहरी प्रमुख राठौरले बताए । “कास्कीमा अनुसन्धान भइरहेकाले रुपन्देही ल्याउने अहिलेसम्म योजना बनेको छैन, बयानका क्रममा ल्याउनै पर्ने अवस्था देखियो भने ल्याउन पनि सकिन्छ,” उनले भने । 

जोशीको बयान लिइरहँदा जिल्ला अदालतबाहिर भने सहकारीपीडितले प्रदर्शन गरेका छन् । सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै भैरहवामा पीडितहरूले विरोध प्रदर्शन गरेका हुन् । 

रुपन्देही जिल्ला अदालत अगाडि ठुलो सङ्ख्यामा जम्मा भएका उनीहरूले बचत रकम फिर्ता र ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट पीडितले विगतदेखि नै सुप्रिम पीडित सङ्घर्ष समितिमार्फत आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोपसमेत लगाएका छन् । अदालतअघि विरोध प्रदर्शन गरिरहेका पीडित सरकारी वकिल कार्यालय अघि जान खोज्दा प्रहरीले रोकेको थियो । वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले प्रहरीले अनुसन्धान सुरु गरिरहेको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गरेका थिए । त्यसपछि पीडितले अदालत अघि नै प्रदर्शन गरेका हुन् ।

उनीहरूले रवि लामिछाने, जोशी र जिबी राईलाई राजनीतिक संरक्षण भएको समेत आरोप लगाएका छन् । सुप्रिम पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको बताए ।

संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौँबाट पक्राउ परेका थिए  । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्