पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जारी



लेखनाथ, कात्तिक ७ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा पक्राउ परेका लामिछानेसँग कास्की प्रहरीले बयान लिन सुरु गरेको छ । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा ठगी र सङ्गठित अपराध अभियोगमा प्रहरीले अनुसन्धान गरिरहँदा रास्वपाले भने आन्दोलन गर्न थालेको छ । शुक्रबार जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरी शनिबार पोखरा ल्याएको हो ।

चितवनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका लामिछानेलाई आइतबार अदालतले छ दिन म्याद थपेको थियो । सूर्यदर्शनको एक अर्ब ३५ करोड अपचलन र सङ्गठित अपराधमा अनुन्धान जारी रहँदा रास्वपाले गरेको प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ ।

अदालतले म्याद थप गरी अनुसन्धान जारी रहँदा रास्वपाले गरेको प्रदर्शनको आलोचना भएको छ । नागरिक अधिकारकर्मी रामबहादुर पौडेल अदालतमा प्रवेश गरिसकेको विषयलाई प्रभावित गर्न राष्ट्रिय राजनीतिक दलले लगातार विरोध प्रदर्शन र दबाब दिनु अनुचित भएको टिप्पणी गर्छन् । “अदालतलाई प्रभाव पार्ने गरी काम गर्नु कानुनसम्मत होइन । यो कदम गलत छ । सरकारको विरोधै गर्ने भए पनि सडक अवरुद्ध गर्ने, नागरिकलाई दुःख दिने कुरा गर्नु हुँदैन,” उनी भन्छ्न ।

आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहिदचोक आसपासका क्षेत्र र जिल्ला प्रहरी कार्यालय गैह्रापाटन आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका छन् । 

यी क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति  भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा गर्न निषेध गरिएपछि रास्वपाले विरोध प्रदर्शन स्थल परिवर्तन गरेको छ । रास्वपाले मङ्गलबार जिरोकिमीमा विरोधसभासहित र्‍याली निकालेको छ । 

बुधबारसम्म लामिछानेको अनुसन्धान सकिने सम्भावना देखिँदैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया लामिछानेसँग बयान लिन सुरु गरिएको जनाउँदै बुधबारै अनुसन्धान सकिने सम्भावना नरहेको बताउछन् । उनी भन्छ्न, “उनीसँग सोमबारबाट बयान लिन थालिएको छ । केही दिन लाग्ला । अनुसन्धानका लागि आवश्यक परे म्याद थपका लागि बिहीबार अदालत लैजान्छौँ ।”

रास्वपाको आन्दोलन जारी रहँदा पोखराका पर्यटन व्यवसायी भने चिन्तित छन् । पर्यटकीय सिजनको सुरुवातमै लगातार आन्दोलन र प्रदर्शनले नकारात्मक सन्देश जाने र तङ्ग्रिन लागेको पर्यटन क्षेत्रमा असर पर्ने उनीहरूको चिन्ता छ । होटल सङ्घ पोखरा अध्यक्ष लक्ष्मण बराल आन्दोलनमा आएका नेता, कार्यकर्ताले होटलको व्यापार थोरै बढे पनि आफूहरू यस खालका गतिविधिको पक्षमा नरहेको टिप्पणी गर्छन् ।

अर्का पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठ पनि राजनीतिक पार्टीले गर्ने आन्दोलनले पर्यटन राजधानी असुरक्षित छ भन्ने सन्देश जाने हो कि भनी व्यवसायी चिन्तित बनेको उल्लेख गर्छन ।  

प्रतिक्रिया दिनुहोस्