‘रारा रिसोर्ट’को प्रारम्भिक वातावरणीय अध्ययन स्वीकृत, छिट्टै निर्माण थालिने



काठमाडौं,कात्तिक ७ । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मुर्माटपमा निर्माण गर्न लागिएको ‘रारा रिसोर्ट’को प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यस परियोजनाका लागि यो स्वीकृति दिएको हो।

रारा रिसोर्टको निर्माणको सम्झौता काठमाडौँमा सम्पन्न तेस्रो नेपाल लगानी सम्मेलनका क्रममा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालका रारा होल्डिङ्स प्रालिबीच हस्ताक्षर भएको थियो।

विभागले १९ भवनमा ६२ कोठा र ९८ शय्याको क्षमता भएको रिसोर्टको निर्माणका लागि वातावरण संरक्षण ऐन, २०७६ र नियमावली, २०७७ अनुसार पेश भएको प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) प्रतिवेदनलाई स्वीकृति दिएको छ। स्वीकृतिसँगै रिसोर्टको निर्माण प्रक्रिया तीव्र रुपमा अघि बढेको छ।

रिसोर्ट निर्माणको दौरान वातावरणीय अध्ययनको स्वमूल्याङ्कन प्रत्येक छ महीनामा पेस गर्नुपर्ने प्रावधान राखिएको छ। मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो लक्जरी रिसोर्टमा पहिलो चरणमा रु ७० करोडको लगानी हुनेछ। रारा होल्डिङ्सका अभिषेकविक्रम शाहका अनुसार रिसोर्ट स्थानीय स्रोत र साधनको अधिकतम् प्रयोग गरी वातावरणमैत्री र नेपाली सांस्कृतिक ढाँचामा निर्माण गरिनेछ। उनले छिट्टै नै रिसोर्टको औपचारिक शिलान्यास गरेर निर्माण कार्यलाई तीव्रता दिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्