वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : किन घट्यो आयात निर्यात ?



वीरगञ्ज,कात्तिक ७ । आयात निर्यात कारोबार परिमाणका आधारमा मुख्य नाका मानिएको वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ३ महीनामा वैदेशिक व्यापार खुम्चिएको छ । 

गत आव २०८०/०८१ को समीक्षा अवधिको तुलनामा आयात र निर्यात कारोबार घटेको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

गत आवको शुरूका ३ महीनामा कुल १ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा चालू वर्षको सोही अवधिमा यो आकार १ खर्ब ५१ अर्ब रुपैयाँमा झरेको भन्सारको तथ्यांक छ । 

बितेको साउन, भदौ र असोज महीनामा करीब डेढ खर्ब रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने ७ अर्ब रुपैयाँको मात्रै छ । आयात र निर्यात दुवै घटेको देखिन्छ । 

गत आवको ३ महीनामा १ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको मालसामान आयात भएकोमा चालू आवको समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु भित्रिएको वीरगञ्जको आईसीपी भन्सारले बताएको छ । 

वीरगञ्ज नाकाबाट मुख्यरूपमा सवारीका साधन, इन्धन र औद्योगिक कच्चा पदार्थ भित्रिने गरेकोमा यी सबैजसो वस्तुको आयात खुम्चिएकाले त्यसको असर यो नाकाबाट हुने वैदेशिक व्यापारको परिमाणमा देखिएको प्रमुख भन्सार प्रशासक दीपक लामिछाने बताउँछन् । 

पछिल्लो समयमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीका सधानको तुलनामा विद्युतीय सवारीको आयात बढेको र त्यस्ता साधन उत्तरी नाकाबाट भित्रिएकाले वीरगञ्ज नाकामा आयात कम देखिएको पनि लामिछानेले बताए । 

विद्युतीय सवारी साधनको बढ्दो प्रयोग र औद्योगिक प्रतिष्ठानसमेत पूर्ण क्षमतामा नचल्दा इन्धनको खपत घटेको छ । विकास निर्माणका काम सुस्त भएपछि इन्धन उपभोग घटेकाले पेट्रोलियम पदार्थको आयातमा पनि ह्रास आएको भन्सार अधिकारीहरू बताउँछन् ।

किन घट्यो निर्यात ? 

वीरगञ्ज नाकाबाट चालू आवको तीन महीनामा अघिल्लो सोही अवधिको तुलनामा निकासी कारोबार खस्किएको भन्सारको तथ्यांक छ । 

गत वर्षको शुरूका ३ महीनामा ८ अर्ब ४६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । चालू आवको असोज अन्त्यसम्ममा यो परिमाण ७ अर्ब ७६ करोड रुपैयाँमा खुम्चिएको छ । 

यो नाकाबाट प्रशोधित खानेतेलको निकासी बढी हुने गरेकोमा भारतले आयात शुल्क घटाएपछि निकासी करीब ठप्पजस्तै भएको थियो । आयात र निर्यात दुवै घटेपछि यो भन्सारले निर्धारित राजस्व पनि लक्ष्यको ७४ प्रतिशतमात्रै उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्