स्कुल बसले ठक्कर दिँदा ११ वर्षीया बालिकाको मृत्यु



जनकपुरधाम, असोज ६ । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा स्कुल बसले ठक्कर दिँदा रामजानकी बोर्डिङ स्कुलकी ११ वर्षीया बालिकाको ज्यान गएको छ ।

मङ्गलबार बिहान गाउँपालिकाको वडा नं. २ गौरदाहास्थित राजजानकी इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत ११ वर्षीया आरोही कुमारी मण्डललाई बा ३ ख ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार बिहान ९ः४५ बजेको समयमा साइकल चलाएर विद्यालय जान लागेकी आरोहीलाई स्कुल बसले ठक्कर दिँदा उपचारका लागि जनकपुरधास्थित प्रादेशीक अस्पताल पु र्‍य ाइएको आरोहीको ११ बजे मृत्यु भएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) बरुणबहादुर सिंहका अनुसार मङ्गलबार बिहान करिब ९ः४५ बजेतिर बा ३ ख ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले विद्यालय गइरहेकी साइकलमा सवार आरोहीलाई ठक्कर दिएको हो । गम्भीर अवस्थामा रहेको आरोहीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएपछि ११ बजे अस्पतालले आरोहीको मृत्यु भएको घोषणा गरेको थियो ।

उनले भने, “घटनाबारे जानकारी पाउनासाथ प्रहरीले घटनास्थलमा पुगेको र आवश्यक कारवाही अघि बढाएको छ । घटनापश्चात् फरार चालकको खोजी कार्य जारी छ ।” दुर्घटनापछि आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर उक्त बसमा आगजनी गरेको बस पूर्णरुपमा जलेर क्षति भएको डिएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्