नुवाकोट शिवपुरीकी बेपत्ता महिला बर्दियामा फेला परिन



नुवाकोट,कात्तिक ६। जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीबाट बेपत्ता भएकी महिला बर्दियामा फेला परेकी छिन् । सुनखानीस्थित ठूलो पाटो नजिकै घर भएकी वर्ष २७ की कृष्टिना तामाङ गत असोज १६ गते बुधबार राति १० बजेदेखि बेपत्ता भएकी थिइन ।

चतुराले माइती भएकी दुईवटा बच्चाकी आमा समेत रहेकी बेपत्ता कृष्टिनाको खोजी गरिदिन पति पशुपति तामाङले यसअघि सबैलाई आग्रह गरेका थिए । पछिल्लो समय माइती पक्षको उजुरीको आधारमा पति पशुपति तामाङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियोे । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बेपत्ता महिलाको श्रीमान पशुपति तामाङले अनुसन्धानका क्रममा आफुले हत्या गरी सेफ्टी ट्याङ्कीमा राखेको बताएपछि शव पत्ता लगाउन भन्दै गुर्जे तथा सिक्रेका प्रहरी टोली तीन दिनदेखि खटाइएको थियोे । 

एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका पति पशुपतिले हत्या गरेको बताएपछि घटना घटेको आसपासका तीन ठाउँको सेफ्टी ट्याङ्की खोलेर हेरिएको थियोे । प्रहरी समक्ष पक्राउ परेका ब्यक्तिले झुठो बयान दिएकै कारण सर्वसाधारणले समेत दुख पाएको प्रहरीले स्वीकारेको छ।

अनुसन्धानलाई प्रभाव पार्ने बयान आएको भन्दै प्रहरीले सोमबार निजका बुबालाई समेत जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई थप अनुसन्धान अगाडि बढाइएको थियोे । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने- ‘मंगलबार युवती ज्युदो रहेको खबर आयो, हामीले माइती पक्षको उजुरी फिर्तासंगै पक्राउ परेका बाबुछोरालाई फिर्ताको तयारी गरेका छौं ।’

हाल बेपत्ता महिला स्थानीयको सम्पर्कमा समेत आइसकेको बताइएको छ । उनले घरायसी झैझगडाका कारण अन्यत्र गएको बताएको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिरबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्