ओली सरकार सय दिन पूरा: राजनीतिक र अर्थतन्त्रमा समग्र रूपान्तरणको थालनी



काठमाडौँ, कात्तिक ६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको छ । नेपाली कांग्रेस र एमालेबिच असार १७ गते भएको सातबुँदे सहमति अनुसार सरकारले अर्थतन्त्र सुधार, परराष्ट्र सम्बन्धमा सुधारसँगै नागरिकलाई सेवा प्रवाह र बृहत्तर हितका पक्षमा क्रमिक सुधारका प्रयास गरिरहेको छ । 

राजनीतिक र अर्थतन्त्रमा विभिन्न दबाबबिच सरकारले समग्र रूपान्तरण गर्ने गरी काम थालेको हो । प्रधानमन्त्री ओलीले सेवा प्रवाह र राज्यका सबै निकायका कामकारबाहीमा रूपान्तरण हुने गरी काम गर्न निर्देशन दिएका छन् । यससँगै नागरिकको हितलाई केन्द्रमा राखेर देखिने गरी केही काम भएका छन् । अर्थतन्त्रमा रूपान्तरण नै हुने गरी काम गर्ने प्रयासमा सरकार छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, “अर्थतन्त्र दबाबमा छ । क्रमिक सुधारको प्रयास भइरहेको छ ।”

सेवा प्रवाह प्रभावकारी 

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सातबुँदे सहमतिको भावना अनुरूप सरकार अघि बढिरहेको बताए । उनले भने, “एक सय दिनमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेरै योजनाबद्ध काम गरिएको छ । कांग्रेस र एमालेको गठबन्धन सरकारले देश र जनताका समस्या समाधान गर्ने गरी काम अघि बढाएको छ ।”

उनले विशेषतः सरकार गठनपछि देशमा बाढी, पहिरो र डुबानबाट पीडित नागरिको उद्धार, राहत र पुनस्र्थापनाका सन्दर्भमा प्रभावकारी काम भएको बताए । उनले असोज १० देखि १३ गतेसम्मको भीषण वर्षाले भएको क्षतिका कारण तहसनहस भएका २० जिल्लामा राहत, उद्धारसँगै पुनस्र्थापनाको कार्य प्राथमिकताका साथ अघि बढाइएको बताए ।  उनले भने, “सरकारले पर्याप्त जनशक्ति प्रयोग गरेर बिग्रेका सडक मर्मत गरेको छ । त्यसले दसैँ मनाउन जानेलाई सहज भयो । ७१ पालिकामा ५० लाखदेखि एक करोड रुपियाँसम्म दिइएको छ । सरकारले क्रमशः सुधारका काम गरिरहेको छ ।”

विधिको शासन र शान्ति प्राथमिकतामा

मन्त्री सिंहले सरकारले विधिको शासन कायम, शान्ति प्रक्रिया र सङक्रमणकालीन न्यायलाई अन्तिम रूप दिएको बताए । उनले भने, “अब आयोग गठन हुन्छ । शान्ति प्रक्रियाले पूर्णता पाउँछ ।”

उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा सहकारी क्षेत्रमा देखिएको अपचलन र बचत दुरुपयोगबारे छानबिन र कानुनी कारबाही थालिएको बताए । उनले विकास निर्माणका कार्यमा पनि प्रगति भएको बताए । 

अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति

पूर्वराजदूत विजयकान्त कर्णले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति प्रशंसायोग्य रहेको बताए । उनले प्रधानमन्त्री ओलीकोअमेरिका भ्रमण र परराष्ट्रमन्त्री डा. आरजु राणाको भारत र अमेरिका भ्रमणले राम्रो सन्देश दिएको बताए । उनले भने, “प्रधानमन्त्री अमेरिका गए । त्यहाँका कार्यक्रम अत्यन्त प्रभावकारी भए । परराष्ट्रमन्त्रीले भारत गएर प्रधानमन्त्रीकै तहमा कुरा गरेर आए । यो राम्रो पक्ष हो । अब संयन्त्रगत सुधार गर्नु पर्छ ।”

संविधान र अर्थतन्त्रमा बहस जरुरी

अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले वर्तमान सरकारको संयोजन अर्थतन्त्रमा समग्र रूपान्तरण गर्नका लागि नीतिगत सुधार गर्ने र संविधान कार्यान्वयनका १० वर्षका दौरान भएका अभ्यासलाई दृष्टिगत गरी संशोधन गर्नु पर्छ भन्ने सैद्धान्तिक आधारमा सरकार बनेकाले यसमा बहस आवश्यक रहेको बताए । उनले भने, “यी दुई वटा मुद्दामा बहस थाल्नु पर्छ । सेयर बजारमा सुधार भयो । नीतिगत होइन । नीतिगत सुधार नै गर्नु पर्छ र संविधान संशोधनको विषय सुरु गर्नु पर्छ ।”

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रमा रूपान्तरण भन्ने कुरा शब्दमा राम्रो देखिए पनि अहिलेको परिस्थितिले गर्दा सजिलो नभएको बताए । उनले केही सुधार भएको र अझै मेहनत गर्नुपर्ने बताए । उनले निजी क्षेत्र र वैदेशिक लगानीलाई ध्यानमा राखेर नीतिगत सुधार गर्नुपर्ने बताए । उनले भने, “अहिलेको बजेटमा प्रस्तावित सरकारी खर्च त्यो अनुशासनभित्र छैन । त्यसले प्रतिफल दिन सक्दैन ।  

प्रतिक्रिया दिनुहोस्