भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्रमा २५ उद्योग स्थापना गर्न अनुमति
काठमाडौं,कात्तिक ६। सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा १० ओटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ । ती उद्योगबाट रु तीन सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएको उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
वर्तमान सरकार गठन भएको सय दिनमा थप दुईओटा उद्योगले उत्पादन शुरु गरेका छन् । प्लट प्राप्त गरेका ३ ओटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा १५ ओटा उद्योगलाई उद्योग स्थापना गर्न जग्गा प्रदान गरिएको र ती उद्योगहरूबाट कुल रु छ सय ८४ करोड लगानी र एक हजार दुई सय ८७ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता प्राप्त भएको छ । ती उद्योगमध्ये सातओटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा उद्योग विभागमा एक सय ९९ वटा नयाँ उद्योग दर्ता भई रु ३३ अर्ब ६८ करोड लगानीको प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । रासस