तिहारका लागि फूल तयार



घोराही (दाङ),कात्तिक ६ । तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् । 

घोराही उपमहानगरपालिका–१४, झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसकेका छन् । उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको बताए । 

यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभइ अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको उनले सुनाए । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । ‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँ । बाहिरी देशमा कमाएकोभन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ,’ रोका मगरले भने । 

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दशैं तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेका हुन् । रोल्पा माडी गाउँपालिका–१, जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका–१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आएका छन् । उनले यस वर्ष दुई बिघाभन्दा बढी जग्गा भाडामा लिएर फूलखेती गरेका छन् । 

उनी विगत चार÷पाँच वर्षदेखि फूलखेती गर्दै आएका छन् । २६ वर्षीय खड्काले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आईएस्सीएजी) अध्ययन गरेका छन् । गत वर्ष तिहारको समयमा रु सात लाख बढीको फूल बेचेर आम्दानी गर्नुभएका उनले यस वर्षको तिहारका लागि पनि फूल फुलाइसकेका छन् ।

यस्तै, घोराही उपमहानगरपालिका–१३, डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन् । यसवर्ष उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गरेका छन् । बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको बताए । ‘विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु । विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ,’ उनले भने, ‘यसपटक पनि माग आउन थालिसक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन शुरु गर्छाैं ।’ 

प्लास्टिकजन्य माला विस्थापित 

तिहारको अवसरमा दाङको लमही नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ । 

लमही नगरपालिकाभित्र विभिन्न पाँचजना व्यवसायीले सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । लमही नगरपालिकाको– ३, ५ र ६ मा गरी कुल २२ कठ्ठा १५ धुर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको कृषि शाखाले जानकारी दिएको छ ।

जिल्लामै व्यावसायिकरूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन् । रासस  

प्रतिक्रिया दिनुहोस्