सामाखुसी यातायातले थप्यो १५ वटा बस, झोरदेखि रत्नपार्कसम्म थप सेवा
काठमाडौं,कात्तिक ५ । सामाखुसी यातायातले थप १५ वटा बस सञ्चालनमा ल्याएको छ । सोमबार टोखा नगरपालिका वडा नम्बर–३ स्थित भत्केको पुलमा आयोजित एक कार्यक्रमका बीच नयाँ बस उद्घाटन गरिएको हो ।
कार्यक्रममा सामाखुसी यातायातका अध्यक्ष सानु काजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका यात्रुहरूको सेवालाई मध्यनजर गर्दै १५ वटा बस थपेको बताए ।
उनका अनुसार १५ वटा बस खरिदका लागि झण्डै ७ करोड खर्चिएको छ । नयाँ बस थपसंगै झोर-सामाखुसी चल्ने बसको दुरी लम्ब्याई रत्नपार्कसम्म तय गरिएको छ ।सामाखुसी यातायात मातहत हाल १५० वटा गाडी सञ्चालनमा रहेको छ ।