इरानमाथि आक्रमण गर्ने इजरायलको योजनाबारे गोप्य सूचना बाहिरिएपछि तनावमा अमेरिका



काठमाडौं,कात्तिक ५ । इरानविरुद्ध इजरायलको प्रतिशोधको योजनाबारे अत्यन्त गोप्य सूचना बाहिरिएपछि अमेरिकी गुप्तचर संस्था तनावमा परेको छ ।

यही अक्टोबर १५ र १६ मा टेलिग्राममा ‘मिडल इस्ट स्पेक्टेटर’ नामक प्रयोगकर्ताले दस्तावेजहरू पोस्ट गरेपछि शुक्रवारबाट सामाजिक सञ्जालमा ‘शेयर’ हुन थालेका थिए। 

सामाजिक सञ्जालमा ‘शेयर’ भएका दस्तावेजमा रहेका गोप्य सूचनामा चिह्न लगाइएको छ । ती चिह्न अमेरिकासहितका ‘फाइभ आइज्’हरू (अष्ट्रेलिया, क्यानाडा, न्यूजिल्याण्ड र संयुक्त अधिराज्य)ले मात्र बुझ्ने बताइएको छ।

सामाजिक सञ्जालमा ती दस्तावेज ‘शेयर’ गर्ने प्रयोगकर्ताहरूले इजरायलले इरानविरुद्ध आक्रमणका लागि गरिरहेको तयारीको बारेमा उल्लेख गरेका छन्। नेशनल जियोस्पाटियल–इन्टेलिजेन्स एजेन्सीले तयार पारेको भनिएको दस्तावेजमा इजरायलले गोलाबारुद ओसारपसार गर्ने योजना रहेको उल्लेख रहेको बताइएको छ ।

उक्त दस्तावेजमा इजरायली वायु सेनाको अभ्यासको रूपरेखासमेत प्रस्तुत गरिएको भनिएको छ, जसमा हावाबाट सतहमा प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरूबारे उल्लेख गरिएको छ, जुन इरानमा आक्रमणको तयारीको लागि भएको अनुमान गरिएको छ ।  

उक्त दस्तावेजमा इजरायलसँग आणविक हतियार छ भन्ने इन्कार गरिएको छ। इजरायलले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने योजना बनाएको कुनै सङ्केत अमेरिकाले नदेखेको दस्तावेजमा उल्लेख छ ।

अनुसन्धान गर्दैछौं : अमेरिका

यता अमेरिकी अधिकारीले दस्तावेज बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् । उनीहरूले दस्तावेज कसरी बाहिरिए भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् । एक अमेरिकी अधिकारीले सीएनएनसँग भनेका छन्, ‘यो (दस्तावेज) लिक हुनु चिन्ताको विषय हो । पेन्टागनको उक्त दस्तावेजमा कसको पहुँच थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।’

पेन्टागन र अमेरिकी गुप्तचर एजेन्सीहरू मिलेर एफबीआईद्वारा स्वचालितरूपमा यसबारे अनुसन्धान शुरू गर्ने ती अधिकारीले बताएका छन् । एफबीआईले भने यस विषयमा प्रतिक्रिया सार्वजनिक गरेको छैन । 

दस्तावेज बाहिरिएकाले अमेरिका इजरायल सम्बन्धमा समेत दरार ल्याउन सक्ने अनुमान गरिएको छ । 

मध्यपूर्वका लागि पूर्व उपसहायक रक्षामन्त्री तथा सीआईएका अवकासप्राप्त अधिकारी मिक मुलरोयले भने, ‘यदि अक्टोबर १ मा इरानले गरेको आक्रमणको जवाफ दिने इजरायली रणनीतिक योजना लिक भएको छ भने यो गम्भीर उल्लंघन हो ।’

मुलरोयले थप भनेका छन्, ‘ यसले अमेरिका र इजरायलबीच भविष्यको समन्वयलाई पनि चुनौती दिन सक्छ । विश्वास सम्बन्धको एक प्रमुख घटक हो । र, यो कसरी लिक भयो भन्नेमा निर्भर गर्छ नत्र विश्‍वास टुट्न सक्छ ।’

अर्का एक अमेरिकी अधिकारीले भने यी दस्तावेज खराब भएको तर भयानक नभएको प्रतिक्रिया दिएका छन् । यदि त्यहाँ थप दस्तावेजहरू पनि भए चिन्ताको विषय हुनसक्ने उनको भनाइ थियो । 

ती कागजातहरू ह्याक गरिएका हुन् वा जानीजानी लिक गरिएका हुन् भन्ने स्पष्ट भएको छैन। तर, इरानी ह्याकिङ अभियानबारे अमेरिका पहिलेदेखि नै सतर्क छ । अमेरिकी गुप्तचर एजेन्सीहरूले अगस्टमा इरानले डोनाल्ड ट्रम्पको अभियानसँग सम्बन्धित कागजातहरू ह्याक गरेको बताएको थियो।

एयर नेशनल गार्ड्सका २१ वर्षीय एक व्यक्तिले सामाजिक सञ्जाल डिस्कोर्डमा अत्यधिक गोप्य सूचना पोस्ट गरेपछि गत वर्ष अमेरिकी गुप्तचर निकायको तथ्य चुहावट भएको थियो । यसले दक्षिण कोरिया र युक्रेनलगायत सहयोगी र साझेदारसँग अमेरिकाको सम्बन्धमा पनि तनाव उत्पन्न भएको थियो ।  सीएनएन

प्रतिक्रिया दिनुहोस्