पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन
काठमाडौं,कात्तिक ५ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको ७० वर्षको उमेरमा आइतवार बिहान निधन भएको छ । ब्रेन ह्यामरेज रोगबाट ग्रसित रहेका मिश्रलाई पछिल्लो समय डेंगीको संक्रमणसमेत भएको थियो ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)मा सक्रिय रहेका मिश्रले संस्थाको अध्यक्षसँगै पाटा मुख्यालयमा महासचिवको भूमिकासमेत निर्वाह गरेका थिए । उनका एक पत्नी र दुई छोरा छन्। उनी टेम्पल टाइगर एण्ड कम्पनीका संस्थापक हुन् ।
नेपालमा वन्यजन्तु पर्यटनलाई लोकप्रिय बनाउने पहिलो पुस्ताको पर्यटन व्यवसायीको श्रेय उनलाई जान्छ ।
एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका सञ्चालक तथा पाटाका उपाध्यक्ष सुमन पाण्डेले मिश्रको निधनले पर्यटन व्यवसायलाई ठूलो क्षति भएको बताए ।