मुख्य नाकाका दुवै भन्सारले भेट्टाउन सकेनन् राजस्वको लक्ष्य



वीरगञ्ज,कात्तिक ४ । आयातनिर्यात कारोबारको करिब आधा परिमाण समेटेर बसेका वीरगञ्ज नाकाका दुवै भन्सार कार्यालयहरूले राजस्व असुलीको लक्ष्य पूरा गर्न सकेनन् । आईसीपी र सुक्खा बन्दरगाह भन्सारले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को शुरू तीन महीनाका लागि तोकिएको राजस्व लक्ष्य भेट्टाउन नसकेका हुन् । 

आईसीपी भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महीनाका लागि तोकिएको लक्ष्यको ७४ प्रतिशतमात्र राजस्व उठाएको छ । सो भन्सारले आफ्नो वेबसाइटमा प्रकाशित गरेको तथ्यांक अनुसार तीन महीनामा ३९ अर्ब ७ करोड रुपैयाँ राजस्व उठाएको छ । यो अवधिको लागि भन्सारलाई ५२ अर्ब ९९ करोड रुपैयाँ संकलनको लक्ष्य तोकिएको थियो ।

वीरगञ्ज नाकाबाट राजस्वमा मुख्य योगदान दिने पेट्रोलियम पदार्थ, सवारीका साधन र औद्योगिक कच्चा पदार्थको आयात घटेकाले राजस्व प्रभावित हुँदै आएको आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताएका छन् । बितेको तीन महीनामा यो भन्सारबाट १४ अर्ब ५९ करोड भन्सार महशुल, १५ अर्ब ७२ लाख मूल्य अभिवृद्धि कर, ३ अर्ब २३ करोड अन्त: शुल्कलगायतका शीर्षकमा राजस्व उठाएको छ । 

यता सुक्खा बन्दरगाह भन्सारले बितेका ३ महीनामा १२ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सो भन्सारका अनुसार मदिरा र सवारी साधनको आयातमा कमी आएकाले त्यसको असर भन्सारबाट असुल हुने राजस्वमा देखिएको हो । 

यो भन्सारले चालु आवका ३ महीनामा लक्ष्यलाई पछ्याउने क्रमलाई भने बढोत्तरी दिएको छ । साउनमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत राजस्व उठाएको सुक्खा बन्दरगाह भन्सारले भदौमा ८८ दशमलव ५० प्रतिशत र असोजमा ९० दशमलव ३१ प्रतिशत उठाएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्