क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने



काठमाडौँ,कात्तिक ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्दै यथाशीघ्र मर्मतसम्भार थालेर बिजुली उत्पादन गरिने बताएका छन्  ।  मन्त्री खड्काले आयोजनामा क्षति पुग्दा राज्यले जलविद्युत क्षेत्रमा दैनिक ठूलो घाटा व्यहोर्नुपरेको भन्दै यथाशक्य चाँडो ल्याउनुपर्ने बताएका हुन ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति पुगेको दोलखास्थित ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाको ड्याम साईड, पावर हाउस, सडक लगायतका भागमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका थिए । 

उक्त जलविद्युत आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र करिब रु ८५ करोड ६ लाख ४७ हजार ९३० घाटा व्यहोर्नुपरेको बताइएको छ । मन्त्री खड्काले बाढी पहिरोले आयोजनामा निम्त्याएको आर्थिक नोक्सानीको प्रत्यक्ष असर राज्य र जनतामा परेको भन्दै पहिरोको कारण उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउन कर्मचारीलाई निर्देशन समेत दिए । 

“आयोजना बन्द हुँदा भोलिका दिन देखिनसक्ने उर्जा सङ्कटलाई ध्यान दिएर आयोजना निर्माणको काम द्रुत गतिमा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ,”– मन्त्री खड्काले भने ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि उनले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरे । 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको वताए  । उनले हेडवक्स क्षेत्रमा थुप्रिएर बसेको ढुंगा, माटो र ग्रेगान हटाउने काम आयोजनाले गरिरहेको जानकारी गराएका थिए । यस्तै, दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभीर आसपासमा ठूला ढुंगा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा जानआउन समस्या परेको सिईओ गौतमको भनाई थियो । 

उर्जामन्त्री खड्कासँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायतले आयोजना क्षेत्रको निरीक्षण गरेका हुन । असोज ११ र १२ गतेको पहिरोमा परेर उक्त आयोजनामा मात्र चार जनाले ज्यान समेत गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्