सभापति पक्राउ परेपछि रास्वपा कार्यकर्ताको वीरगञ्जमा ‘शवयात्रा जुलुस’



वीरगञ्ज,कात्तिक ४ । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले शनिबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । लामिछाने निर्दोष रहेको भन्दै रास्वपा पर्साले वीरगञ्जमा सरकारको ‘शवयात्रा जुलुस’ निकालेको छ । 

रास्वपा कार्यकर्ताहरूले वीरगञ्जको घण्टाघरबाट निकालेको शवयात्रा जुलुश नगर परिक्रमा गरी पुन: घण्टाघरमै पुगेर विरोधसभामा परिणत भएको रास्वपा पर्सा जिल्ला अध्यक्ष हरि पन्तले जानकारी दिए । 

पन्तले अगुवाइ गरेको प्रदर्शनमा सहभागी वक्ताहरूले सरकारले सहकारी पीडितको समस्या समाधान गर्नुको सट्टा यो प्रकरणलाई राजनीतिक प्रतिशोध साँध्ने हतियार बनाएको आरोप लगाएका थिए । 

उनीरुले रबि लामिछाने निर्दोष रहेको दाबी गर्दै तत्काल रिहाईको मागसमेत गरे । प्रदर्शनमा रास्वपाका जिल्ला, क्षेत्र र नगरस्तरीय नेता कार्यकर्ताको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्