दुर्घटनामा एकको मृत्यु, आक्रोशित समूहद्वारा बसमा आगजनी



झापा,कात्तिक ३ । झापाको कमल गाउँपालिकाको पाडाजुंगी नजिकै भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले गाडीमा आगो लगाइदिएका छन् । दुर्घटनापछि केहीबेर दुर्घटनास्थल तनावग्रस्त बनेको थियो ।

पूर्वपश्चिम राजमार्ग कमल गाउँपालिका वडा नं. ५ स्थित रबी पेट्रोलपम्प नजिक शनिबार मध्याह्न १२ बजे काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले बिर्तामोडतर्फबाट मोरङको केराबारी आउँदै गरेको को १६ प ५३३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको केराबारी ७ नर्कटेका पदममुकारुङ राईको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका थियो भने दमक नगरपालिकाको दमकलले आगो निभाएको थियो ।

बसको लापरबाही भएको भन्दै स्थानीयले सडक अवरोध गरेर नाराबाजी गर्दै प्रदर्शन गरेपछि बाक्लो प्रहरी परिचालन गरेर भीडलाई प्रहरीले तितरबितर गरेको थियो । दुर्घटनाको विषयमा आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्