दसैँमा पनि रोकिएन बिदेसिनेको लर्को



काठमाडौ,कात्तिक ३ । नेपालीको महान् पर्व दसैँका अवसरमा पनि श्रम बेच्न बिदेसिने युवाको लर्को रोकिएन । चालु आर्थिक वर्ष २०८/८२ को साउन, भदौ र असोजमा बिदेसिनेको सङ्ख्या हेर्दा असोजमा थोरै घटे पनि दसैँले प्रभाव पारेको देखिएन । 

वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५७५ जना, भदौमा ५७ हजार ८८४ र असोजमा ५३ हजार ५२५ जना श्रम स्वीकृति लिएर बिदेसिएका छन् । देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दसैँको बेलामा बिदेसिन युवा बाध्य छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि मुलुक छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी छोडेर विदेश जान बाध्य हुन्छन् ।  विभागका अनुसार गत आवको साउन, भदौ र असोजमा एक लाख ६२ हजार ९०४ जना बिदेसिएकामा चालु आवको साउन, भदौ र असोजमा एक लाख ७० हजार ९८४ जना गए । यो सङ्ख्या गत वर्षको भन्दा आठ हजार ८० ले बढी हो ।

गत आवको पहिलो तीन महिनामा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या लगभग २१ प्रतिशतले घटेर एक लाख ६२ हजार ९०४ जनामा सीमित भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले स्वदेशमा रोजगारीको अवसर नभएपछि नजिक आएको चाडपर्व छोडेर विदेश जाने युवाको चाप नरोकिएको बताउनुभयो । 

वैदेशिक रोजगारीको इतिहासमै आर्थिक वर्ष २०७९/८० को भदौमा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका थिए ।   

प्रतिक्रिया दिनुहोस्