सिफारिस समिति अध्यक्षमा मिश्र



काठमाडौ,कात्तिक ३ । पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार सम्पन्न बैठकपछि सिफारिस समिति गठनको निर्णय भएको जानकारी दिएका हुन्  । यसअघि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पनि २०८० चैत ३० मा पूर्वप्रधान न्यायाधीश मिश्रकै अध्यक्षतामा सिफारिस समिति गठन गरे पनि समितिले पूर्णता पाएको थिएन । कानुनतः समिति गठन भएको दुई महिनाभित्र आयोग गठन गर्नुपर्ने हुन्छ । मन्त्री गुरुङले असोज १० देखि १३ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित २० जिल्लाका ७१ वटा अति प्रभावित स्थानीय तहलाई एक करोड रुपियाँ, प्रभावितलाई ७५ लाख रुपियाँ र सामान्यलाई ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको बताए । उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषबाट दिइने छ ।

मन्त्रीपरिषद्को असोज २१ गतेको बैठकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राहत र पुनर्निर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो । मन्त्री गुरुङले भने, “क्षतिका आधारमा राष्ट्रिय विपत् व्यवस्थापन कार्यकारी समितिबाट सिफारिस भइआएबमोजिम अति प्रभावित, प्रभावित र सामान्यमा वर्गीकरण गरिएको हो ।”  

प्रतिक्रिया दिनुहोस्