जिबीका दुई दाइसहित १४ जना विरुद्ध पक्राउ पुर्जी



लेखनाथ, कात्तिक २ । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप भएको छ । सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका दुई दाइ र एक साढुभाइविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जिबी मुख्य जिम्मेबार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष छ । 

संसदीय छानबिन समितिले लामिछानेलाई समेत कारबाही गर्नुपर्ने यकिन गरेको थियो । समितिको निष्कर्षमा लामिछानेबारे लेखिएको छ, “परिचालन र खर्च प्रक्रियामा सहभागिता देखिएको छ ।” कास्की प्रहरीले शुक्रबारै प्रहरी प्रधान कार्यालयसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरलाई पत्राचार गरी लामिछानेलाई पक्राउ गरी कास्की पठाइदिन पत्राचार गरेको छ ।

कास्की जिल्ला अदालतले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध पुर्जी जारी भएको छ ।

अनन्तबाबु जिबीका जेठा दाइ र देवेन्द्रबाबु माइला दाइ हुनुहुन्छ भने दीपक लामा साढु दाइ हुनुहुन्छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर २ घर स्थायी घर भए पनि अहिले जिबीको परिवारका कोही पनि गाउँमा छैनन् । सुनकोशी–२ का वडाध्यक्ष प्रकाश सापकोटाले जिबीको परिवारका अहिले कोही पनि गाउँमा नरहेको जानकारी दिए । 

संसदीय छानबिन समितिको प्रतिवदेन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै सूर्यदर्शनको अनुसन्धान अघि बढेको हो । कास्की प्रहरीले सूर्यदर्शन र गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेकोमा शुक्रबार २० दिन म्याद थप भएको छ । दसैं बिदाका कारण अदालत बन्द रहेकाले म्याद सकिएको १५ दिनपछि प्रहरीले जोशीलाई शुक्रबार अदालत उपस्थित गराएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जोशी अब थप पाँच दिन थुनामा रहने र अनुसन्धान जारी रहेको जानकारी दिए । शर्मा सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान अधिकारीसमेत छन् ।  

जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत हुन। केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनका कागजात नियन्त्रणमा लिएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका शेयरधनी ५९ वर्षीय जोशीविरुद्ध सहकारी ठगी, संगठित अपराध कसुरमा अनुसन्धान जारी छ । 

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा १९ जनालाई विपक्षी बनाई २०८० साउन २२ गते १९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । तीमध्ये अझै १३ जना फरार छन् भने एक जना हिरासतमा र पाँच जना पुर्पक्षका लागि थुनामा छन् । 

सूर्यदर्शनबाट गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिजभिनमा गैरकानुनी रुपमा रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । संसदीय छानबिन समितिले सहकारीको रकम दुरुपयोगमा सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, जिबीका दाजु भूपेन्द्र राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछाने लगायतलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

२०६३ मा पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी स्थापना भएको थियो । ज्ञानबहादुर बम्जनको सक्रियतामा खुलेको सूर्यदर्शनका जिम्मा २०६७ बाट गीतेन्द्रबाबु(जिबी) राईले पाएका थिए । पछि सहकारीमा रामेछापका कैलाशकुमार दर्लामी र पूर्व उपराष्ट्रपतिका छोरा दिपेशकुमार पुन जोडिएको देखिन्छ । 

सूर्यदर्शनबाट जिबीले चलाएका जिबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप अफ कम्पनी लि, नेचर हब्रर्स प्रालि, नेचर नेस्ट प्रालि, हर्बाे इन्टरनेसनल प्रालि, गोर्खा आयुर्वेद प्रालि, गुप्ती टि इस्नेट प्रालि, गोरखा मिडिया नेटवर्क प्रालिलगायतका संस्थामा गैरकानुनी रुपमा रकम पठाइएको पाइएको छ । गोरखा मिडियाले सुरुआतमा नागरिकखबर डटकम अनलाइन सञ्चालन गरेको थियो । त्यसमा पनि सूर्यदर्शनकै पैसा लगानी भएको संसदीय छानबिन समितिले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्