विपद् प्रभावित स्थानीय तहलाई ५० लाखदेखि एक करोडसम्म राहत



काठमाडौ,कात्तिक १ । विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ। क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

सिंहदरबारस्थित विपद् प्राधिकरणको कार्यालयमा बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले विपदबाट प्रभावित मुलुकका ७१ स्थानीय तहलाई राहत रकम दिने निर्णय गरेको छ। प्रभावित स्थानीय तहलाई तीन भागका वर्गीकरण गरी राहत रकमस्वरुप प्रत्येक स्थानीय तहलाई ५० लाखदेखि  एक करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरुप प्रभावित पालिकालाई रकम उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा सिफारिस गर्ने समेत निर्णय गरिएको उनले बताए ।

दीर्घकालसम्मका लागि पुनःनिर्माण र पुनःस्थापना गर्न उल्लेखित विपद्का कारण भएको विस्तृत क्षति आँकलन यथाशीघ्र गर्ने र सो प्रतिवेदनका आधारमा पुनःनिर्माण र पुनःस्थापनाको कार्य अघि बढाउन सम्बन्धित क्षेत्रगत निकायले आवश्यक व्यवस्था मिलाउने तथा सो कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको सहसचिव अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्