पर्साको ठोरी : ‘पर्यटकीय क्षेत्र’ घोषणामै सीमित, प्रदेश सरकारले दिएन बजेट



वीरगञ्ज,कात्तिक १। करीब ३ वर्षअघि पर्साको ठोरीमा बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जिल्लाको सुदूरपश्चिमी क्षेत्रस्थित ठोरी पालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्‍यो । 

२०७८ चैत ११ गतेको सो बैठकलगत्तै प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीमा पर्यटकीय पूर्वाधार विकासका लागि १० करोड रुपैयाँ विनियोजन गर्ने घोषणा पनि गरे । तर, त्यो घोषणामै सीमित रह्यो । 

यसबीचमा आवधिक चुनाव भएर स्थानीयदेखि प्रदेश सरकार फेरिए । ठोरीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना ओझेलमा पर्‍यो ।  

प्रदेश सरकारले ठोरीको सम्भाव्यता उपयोगको उद्देश्यलाई पूरै बेवास्ता गरेको गुनासो गर्छन् ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘प्रदेश र संघ सरकारले ठोरीप्रति सहयोगी दृष्टिकोण राखेमा ठोरीले पर्यटन विकासमा उदाहरणीय काम गर्न सक्ने थियो । तर, घोषणा गरिएको बजेटसमेत आएन । हामीले स्थानीय स्रोतबाट काम गर्न सकिरहेका छैनौं ।’ 

पर्यटकीय सम्भाव्यताकै कारण मधेस सरकारले यो क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेको थियो । ‘सम्भावनै सम्भावनाले भरिएको ठोरीको पर्खाइ भनेको पर्यटकीय पूर्वाधारमा तहगत सरकारीबीच सहकार्य र समन्वयको मात्र हो । ठोरीको पर्यटन पर्साका लागि मात्र नभएर मधेश प्रदेशकै लागि कोशेढुंगा बन्न सक्छ,’ श्रेष्ठको दाबी छ ।  

पर्साको सदरमुकाम वीरगञ्जबाट ३० किलोमीटरको यात्रा तय गरेपछि ठोरी पालिका शुरु हुन्छ । यो क्षेत्र यतिबेला सीमा जोडिएको भारतीय क्षेत्रबाट भित्रिने भारतीय पर्यटकको रोजाइमा परेको छ । सदरमुकाम वीरगञ्जबाट पनि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भले घेरिएको ठोरीमा राइधारा पार्क,  पहुचमार्गका पुलहरूमा फहराइएका राष्ट्रिय झण्डा, ठुटेखोला पुल र किनारमा अवस्थित सेतो पहाड मुख्य पर्यटकीय आकर्षण हुन् । 

पर्यटकीय आगमन बढेपछि पछिल्लो समय यहाँ स्तरीय रिसोर्ट, होटल र होमस्टे पनि खुल्ने क्रम बढेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बताए । तर, स्थानीय पर्यटकीय पूर्वाधारमा सोचेजस्तो काम गर्न नसकिएको थापाको भनाइ छ ।

प्रदेश र संघीय सरकारले पर्यटकीय पूर्वाधारका लागि बजेट नदिएको र आन्तरिक स्रोत सीमित भएकाले योजना अघि बढाउन नसकिएको उनले बताए । 

पालिकाले स्थानीय स्रोतबाट ठोरी पालिकाको वडा नं. १ मा पर्ने सिंहे डाडा र वडा नं. २ को गोले डाडामा भ्यु टावर निर्माण गरे पनि त्यहाँ पुग्ने बाटोको दुरावस्था सम्भावना उपयोगको अवरोध बनेको छ । 

‘ती टावर र त्यहाँ पुग्ने बाटो झाडी र बुट्यानले घेरिएको छ । सहज पहुँच नहुँदा अहिले त्यो भ्यु टावरसम्म पुग्नै हम्मेहम्मे पर्छ,’ स्थानीय नातिकाजी सुनारले आर्थिक अभियानसित भने । 

भ्यु टावरसम्म पुगेपछि त्यहाँबाट देखिने दृश्यले पर्यटकलाई लोभ्याउने दाबी सुनारको छ । टावरबाट ठोरीका अधिकांश भाग र भारतका केही दृश्य अवलोकन गर्न सकिन्छ ।

पालिकाले यसै स्थानमा पर्यटन र होटल व्यवसायलाई लक्षित गरी नमुना बस्तीको योजना बनाएको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । ठोरी पालिकोको वडा नं. २ कै १ विगाह १४ कठ्ठा जग्गामा पार्क निर्माण भइरहेको छ । 

‘स्विमिङ पुल, फन पार्कलगायतका मनोरञ्जनका विविध संरचना समेटिएका पार्कले पर्यटक आकर्षित गर्ने र स्थानीयको जीवनस्तरमा सुधार आउने अपेक्षा लिइएको छ,’ उनले भने । 

पालिकाले स्थानीय स्रोतबाट कृष्ण मन्दिर, चोकबजारमा शिव मन्दिर, सीता गुफा, रामनगर मन्दिरलगायतका स्थानमा पर्यटकीय पूर्वाधार तयार गरी धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनको योजना बनाएको छ । यी सबै सम्भावना उपयोगका लागि पालिकाले स्रोतको अभाव झेलिरहेको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्