आरोहणका क्रममा ज्यान गुमाएका आरोहीको शव ल्याउन समस्या



म्याग्दी (बेनी), असोज ३०  । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा गत मङ्गलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन सकिएको छैन । भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारण आरोहीका शव हिमालमा अलपत्र छन् । आरोहीको शव एक हप्तादेखि अलपत्र छ । 

असोज २० गते धवलागिरि प्रथम हिमाल आरोहणका क्रममा करिब सात हजार सात सय मिटर उचाइबाट खसेर आरोहीको मृत्यु भएको प्रहरीको भनाइ छ । आरोहणमा गएका अलेक्जान्डर डसीको, ओलेग व्रग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोई करिब सात हजार एक सय मिटर उचाइमा गत मङ्गलबार मृत फेला परेका थिए । 

प्रतिकूल मौसम र कठिन भूगोलका कारण मृत भेटिएका रुसका यी पर्वतारोहीको शव ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए । शव सङ्कलन गर्न सम्बद्ध ट्रेकिङ कम्पनीले पहल गरे पनि सम्भव नभएको उनको भनाइ छ । उनले भने, ‘‘दसैँअघि बुधबार हेलिकोप्टरमा गएका शेर्पासहितको टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै शव उठाउन कोसिस गरे पनि प्रतिकूल मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भयो ।” मानिस हिँडेर पुग्न नसकिने ठाउँमा शव भेटिएकाले झन् समस्या भएको उनको भनाइ छ  । 

आधार शिविरको ‘हाइक्याम्प’ मा बास बसेर धवलागिरि आरोहणका लागि गएका उनीहरू गत आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रुसका पुरुष पर्वतारोही धवलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ जना पर्वतारोहीले बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । पर्यटन विभागका अनुसार चालु शरदयाममा रुसका १४ जनाले धवलागिरी आरोहणको अनुमति लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्