निर्बाध सञ्चालनमा आयो बिपी राजमार्ग
काठमाडौ,असोज ३० । असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गमा मङ्गलबारदेखि पहिलेको जस्तै निर्बाध यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएको छ । यो राजमार्गमा ‘रुट’ अनुमति लिएका यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएकोे सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
डिभिजन कार्यालयका प्रमुख योगेश सुमनले बाढीपहिरोले क्षतिग्रस्त भएको ठाउँमा ट्र्याक निर्माण गरी साना गाडीका लागि मात्र आवागमन खुलाइएकोमा मङ्गलबारदेखि ठुला यात्रुवाहक सवारीसाधनसमेत सञ्चालन गर्न दिएको जानकारी दिए ।
उनले भने, “बाढीपहिरोका कारण सो राजमार्गको भकुन्डेबेँसी बर्सेखोला खण्डको करिब आठ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रूपमा बगाएकोले अहिले नयाँ ट्र्याक निर्माण गरी सवारीसाधनका लागि आवागमन खुलाइएको छ । ‘रुट’ अनुमति लिएका यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न सकिन्छ ।’’