दशैंपछि गन्तव्यमा फर्कनेलाई भेडेटारको कोसेली, हरियो सागसब्जी



धरान (सुनसरी),असोज २९ । धनकुटाको भेडेटारका प्रत्येक पसलहरूमा हरियो सागसब्जी र फलफूलहरू बिक्रीका लागि राखिएका छन् । जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अर्ग्यानिक’ उत्पादन पाइन्छ ।

अहिले दशैं मनाउन आउने र फर्कनेको भीड छ । यहाँ आइपुग्ने यात्रुहरूले कोसेलीका रूपमा भेडेटारको हरियो सागसब्जी किन्ने गरेका छन् । ग्राहकको भीड नै लागेपछि व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ छ ।

धनकुटाका मनिसा कुँवर भेडेटारमा सागसब्जी किन्दै गर्दा भेटिए। उनि धनकुटाबाट इटहरी टीका लगाउन जाँदै गरेका रहेछन् । उनको हातभरि हरियो साग, सिमी र किबी थियो । ‘इटहरी माइत टीका लगाउन हिँडेको ताजा सब्जी, फलफूल देखेपछि किन्न मन लाग्यो । पहाडी भेगको अर्ग्यानिक सागसब्जी मधेसमा लाँदा त चीज हुन्छ, दशैंको बेला त कोसेली पो हुन्छ”, मुसुक्क हाँस्दै उनले भने ।

दशैंतिहारमा मात्र भेडेटारमा हरियो र अग्र्यानिक सागसब्जी बिक्री हुने भने हैन । पहाडी भेगबाट सिजनअनुसार सागसब्जी र फलफूल बिक्रीका लागि यहाँ आइरहने व्यापारी कोपिला राई बताउँछन् । उनले भने, ‘यहाँ भ्रमणमा आएका अधिकांशले फर्कने समयमा सागसब्जी कोसेलीका रुपमा लैजाने गर्नुहुन्छ । दशैंमा चाहीँ अन्य बेला भन्दा कोसेलीका लागि किन्नेको भीड अलि धेरै हुन्छ ।’

व्यापारी विक्रम मगर अघिपछि भन्दा दशैं लागेपछि ग्राहकको भीड बढेको बताउँछन् । उनले भने, ‘अघिपछि सागसब्जी खरिद गर्छन् लैजान्छन्, कहाँको हो कसैले सोधपुछ गर्दैनन्, यहाँ सबै पहाडी भेगबाट सागसब्जी अर्ग्यानिक र ताजा आउने गरेकाले दशैंको बेला पनि सागसब्जी किन्नेको भीड लागेको छ ।’ दशैं शुरू भएयता रु दुई लाख बढीको सागसब्जी र किबी बिक्री गरेको मगरले बताए ।

मगरकाअनुसार यहाँ धनकुटा, नाम्जे, राजारानी मूलघाट, भोजपुरलगायतका ठाउँबाट हरियो सागसब्जी, अकबरे खोर्सानी, किबी टमाटर र आलु ल्याइने गरिन्छ । पहाडी भेगमा उत्पादित सागसब्जी स्वादिष्ट हुने भएकाले महँगो भए पनि खरिद गरेर लैजाने गरेका स्थानीय सुरज राई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्