तीन दिनपछि हुम्लाबाट पुन: हवाई उडान



सिमकोट, (हुम्ला),असोज २९ । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुन: शुरू भएको छ । यहाँ दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन । 

तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए । आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए । दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए । ‘मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको छ । अब यात्रुको चाप विस्तारै बढ्छ”, प्रमुख लामाले भने ।

नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उनको भनाइ छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्