भक्तपुरमा दसैंमा लाग्ने ब्रम्हायणी जात्राको रौनक



भक्तपुर,असोज २७ । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा शुरु भएको छ । यो जात्राका लागि रातिदेखिनै हजारौं दर्शनार्थीको घुइँचो लागेका थिए । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा शनिबार नवदुर्गा प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्छ । 
    
मन्दिरमा नवमीका दिन साँझदेखि नै हजारौं दर्शनार्थीको घुइँचो लागेको थियो । शुक्रबार साँझ नवदुर्गा मन्दिरबाट महिषासुर दैत्यको प्रतिक खःमेय अर्थात् राँगोलाई जाँड, रक्सी खुवाएर मत्ताएर अबिर दलेर नवदुर्गा देवता घरबाट हजारौंको सङ्ख्यामा दर्शनार्थीले लखेट्दै दत्तात्रय, च्यामासिंहबाट ब्रम्हायणी मन्दिरमा पुर्याएर राति वध गरिएको थियो । 

राँगोलाई महिषासुर दैत्यको रूपमा लखेट्दै वध गर्ने परम्परा सयौं वर्षदेखि भक्तपुरमा चल्दै आएको भक्तपुरका संस्कृतकर्मी कमलनाथ जोशीले जानकारी दिए । 

खःमेयको वधपछि पनि रातभर यस मन्दिरमा हजारौं दर्शनार्थीको भीडमा जात्रा मनाइएको थियो । विजयादशमीको दिन ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौंदेखिका भक्तजन आउने गर्छन् । मन्दिरमा पूजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

बिजया दशमीका दिन व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने चलन छ । बालकदेखि वयष्क पुरुषहरू शरीरमा बत्ती बालेर घरबाट मन्दिरसम्म पुग्छन् । 

कतिपय भने सडकमा सुतेर हात जोड्दै घरबाट मन्दिरसम्म पुग्ने गर्छन् । शरीरमा दीप बालेर र हात जोड्दै उनीहरू घरबाट मन्दिरसम्म पुग्छन् । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । मन्दिरमा आज दिनभर नै भव्य मेला लाग्छ । रासस

प्रतिक्रिया दिनुहोस्