नेपालबाट बाहिरियो मनसुन



काठमाडौं,असोज २७ । यस वर्षको मनसुन शनिबारदेखि पूर्णरूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरु गरेको मनसुन शनिबारदेखि पूर्णरूपमा बहिर्गमन भएको हो ।

शनिबार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि हिजो बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।

यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्णरूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो । हिजो भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । 

यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन शुरु भएकामा ६ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्