आज दशैँको आठौँ दिन आत्मा शुद्धि र सर्वसिद्धिका निम्ति माता महागौरीको आरधना गरी मनाइँदै
काठमाडौं,असोज २५ । मता महागौरी आदी पराशक्तिको सौम्य स्वरुप हुन् । चन्द्र शोभायुक्त अत्यन्त उज्ज्वल वर्ण हुनाका कारण माताको यस स्वरुपलाई महागौरी नामले सम्बोधित गरिन्छ । देवी महात्म्यका अनुसार जब सबै देवताले मिलेर आफ्नो शक्तिलाई एकत्रित गर्दै आदिशक्ति महामायाको स्मरण गरेका थिए, तब नै सहस्रकोटी सूर्य समान उज्ज्वल स्वरुपमा महादेवी प्रकट भएकी थिइन् । उनको यस दीव्य स्वरुप देखेर देवराज इन्द्रले उनलाई माता महागौरीको नामले सम्बोधन गरेका थिए ।
शास्त्रमा माता महागौरीलाई उज्वल एवम् स्वेतवर्णा भनेर उल्लेख गरेको छ । उनलाई अति सौम्य स्वरुपमा प्रस्तुत गरिएको छ । उनी पनि चतुरभूजा शक्ति स्वरुपा हुन् । उनी देब्रेतिरको एक हातले डमरु समात्छिन् र अर्को हातलाई वर मुद्रामा राख्छिन् । दाहिने तर्फको एक हातमा त्रिशूल रहन्छ भने अर्को हातलाई अभय मुद्रामा राख्छिन् ।
माता श्वेत वस्त्र पहिरिन्छिन् । उनको शीरमा जटामुकुट रहेको हुन्छ । जसले उनको यस दीव्य स्वरुपलाई अझै करुणामयी बनाइदिन्छ । उनी श्वेत पुष्प आभूषिता हुन् । अर्थात् सेतो रंगका फूलबाट बनेका अलंकार धारण गर्छिन् । उनको बहानको रुपमा साँढेलाई चित्रित गरिएको छ । यसै कारण उनलाई वृषारूढाको नामले पनि सम्बोधन गरिन्छ ।
माताले आफ्ना भक्त एवम् साधकलाई विगतमा गरेका सम्पूर्ण पापबाट मुक्त गरिदिने हुनाले उनलाई क्षमाधात्रीको नामले पुकारिन्छ । उनी शान्ति एवम् धैर्यताको प्रतीक हुन् । माताको यस रुपको पूजा गर्नाले भक्तको मन एवम् हृदय शुद्ध र पवित्र हुन्छ भन्ने मान्यता छ । अति सौम्य स्वभावकी माताको साधनाद्वारा साधकले अष्ट विद्या (अष्टि सिद्धि) प्राप्त गर्नसक्छ ।
आफ्ना भक्तहरुका लागि अन्नपूर्णाको रुपमा रहने माता महागौरी आत्मा शुद्धिको द्योतक पनि हुन् । दशैँमा अघिल्ला सात दिनसम्म आफूमा भएका सम्पूर्ण नकारात्मकताको अन्त्य गरिसकेपछि आत्मा शुद्धि गरिएको रुपमा पनि आठौँ दिनलाई मानिन्छ ।
शास्त्रमा ‘अष्टवर्षा भवेद् गौरी ।’ भनिएको छ । अर्थात् माताको यस रुप ८ वर्षकी बालिकाको स्वरुपमा रहने वर्णन पाइन्छ । ‘नारद पञ्चरात्र’का अनुसार माता आदिशक्तिले पार्वती रुपमा परमेश्वर शिवलाई पतिको रुपमा पाउन भन्दै कठोर तपस्या गरिन् । लामो तपका कारण उनको शरीर निर्बल र कालो बन्न पुगेको थियो । भगवान शिव उक्त तपस्याबाट सन्तुष्ट भएपछि उनले दर्शन दिएर आफ्नो जटामा रहेकी गंगाको जलद्वारा मातालाई स्नान गराइदिएको उल्लेख छ । त्यससँगै माताको शरीर विद्युत् कीरणका समान कान्तिमय र हिउँजस्ती गोरी बनेको उल्लेख छ ।
माता दयालु, ममतामयी र करुणामयी छिन् । उनी आफ्ना सबै भक्तका समस्त इच्छाहरु पूर्ण गरिदिन्छिन् । माता महागौरी समस्त प्रकारका कष्ट एवम् पीडाबाट मुक्ति प्रदान गर्छिन् । महागौरीको आरधना गर्नाले भविष्यमा पाप–सन्ताप, निर्धनता, दीनता एवम् दुःख कहिल्यै उपासकको नजिक नपर्ने विस्वास गरिन्छ । यीनको पूजा गर्दा विवाहिता महिलाले विशेष फल पाउने जनविस्वास छ । त्यसैले महिलाहरु अन्य पूजनमा पनि गौरी पूजा गर्ने गर्छन् ।
माता महागौरी मनलाई शान्ति प्रदान गर्छिन् । यिनको भक्तिद्वारा परमानन्द प्राप्त हुन्छ । वैदिक ज्योतिष अनुसार शक्ति, समृद्धि, यश एवम् बुद्धिका दाता राहु देवी महागौरीद्वारा शासित हुन्छ । तसर्थ माताको पूजा गर्नाले राहुको कुनै पनि खराब प्रभावलाई हटाउन सकिन्छ । महादशा एवम् कालशर्प योगको प्रभाव कम गर्नका लागि पनि माताको पूजा आवस्यक छ ।
साधकले यिनको साधनाद्वारा माया शक्तिलाई वशमा ल्याउन सक्छ । माता महागौरी मायाकी स्रोत हुन् । उनको वास सप्त चक्रभन्दा माथि सोम चक्रमा हुन्छ । सोमचक्रबारे धेरै मानिसहरु जानकार नहुन सक्छन् । सहस्रार चक्रबाट उन्मुक्ति पाएपछि सोम चक्रबाट सोमरस (अमृत)को वर्षा हुन्छ । यसले साधकलाई इच्छामृत्यु एवम् पूर्ण आरोग्यता प्रदान गर्छ ।
साधना एवम् पूजा विधी
यस अघिका साधनाबाट साधकले शरीरका सातै चक्र जागृत अर्थात् उन्मुख गरिसकेको हुन्छ । यो साधनाको अन्त्य होइन । त्यहीँबाटल पराध्यात्मिक साधना सुरु हुन्छ । साधकले सोमचक्र सक्रीय बनाएपछि सोमरसको वर्षा हुन थाल्छ । जसलाई प्राप्त गरेपश्चात् साधकले ब्रह्माण्डीय अमृतको स्वाद चाख्छ । यसबाट साधकले परमशान्तिका साथै परमानन्द प्राप्त गर्छ ।
तर गृहस्त मानिसले माता महागौरीको पूजा प्रत्येक शुक्रबार गर्नसक्छन् । मातालाई नरिवलबाट बनेका मिठाई, हलुवा र कालो चनाको प्रसाद चढाउने चलन छ ।
‘ॐ देवी महागौर्यै नमः’ बीज मन्त्रलाई १०८ पटक जप गरेर शिवलिंग वा माताको मूर्तिलाई जलले अभिषेक गर्नुपर्छ । माताको यस रुपलाई नीलकमल, मोगरा वा हरसिंगारको माला र पुष्पाञ्जली अर्पण गुर्नपर्ने हुन्छ ।
मातालाई प्रशन्न गर्न यस मन्त्रको पनि जप गर्न सकिन्छ :
श्वेते वृषेसमारूढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दद्यान्महादेव प्रमोददा॥
या देवी सर्वभूतेषु मां महागौरी रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
यसबाट साधक वा भक्तको सम्पूर्ण कष्ट निवारण हुनुका साथै सुख, समृद्धि, धन, दीर्घायु, आरोग्यता, शत्रुनाश, ज्ञान एवम् शान्ति प्राप्ति हुन्छ ।