घरायसी विद्युतीय सामग्रीमा उपभोक्ताको आकर्षण बढ्दो



काठमाडौं,असोज २५ । घरायसी सामानमा दशैं लक्षित छूट अफर आएपछि बजारमा यस्ता सामानतर्फ उपभोक्ताको आकर्षण बढ्दो रहेको पाइएको छ । देशभित्र यस्ता वस्तुको आयात पनि व्यापक बढेको छ । 

व्यवसायीले विभिन्न ब्रान्डका इन्डक्सशन चूल्हो, राइसकुकर, वासिङ मेशिन, रेफ्रिजेरेटर (फ्रिज), भ्याकुम क्लिनरलगायत घरायसी समानमा चाडपर्वको अफर भन्दै छूट दिइरहेका छन् ।

यतिबेला सामसङ, यासुडा, पानासोनिक, हकिन्स, बजाज, प्रेस्टिज, अर्कातिक, सानसुईलगायत ब्रान्डका सामान र चाँदीका सिक्कामा ३५ प्रतिशतसम्म छूट दिइएको विभिन्न घरायसी सामानको आधिकारिक विक्रेता त्रिवेणी व्यापार कम्पनीले बताएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाल्ट्रा ब्रान्डको घर र भान्सामा प्रयोग हुने सामान विक्री गर्न थालेको छ ।

दशैंको अवसरमा छूट दिएकाले यस्ता सामानको व्यापार अन्य अवस्थाको तुलनामा दोब्बर बढेको त्रिवेणी व्यापार कम्पनीकी बजार व्यवस्थापक सेफाली अग्रवालले बताइन् । दशैंको समयमा घरमा नयाँँ सामान भित्त्याउने चलन भएकाले धेरैजसोले यही बेला किन्ने हुँदा यस्ता समानको व्यापार बढेको उनले बताइन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को साउन र भदौमा मात्रै २ अर्ब १८ करोड २१ लाख ५१ हजार रुपैयाँ बराबरको घरायसी वस्तु आयात भएको छ । विभागको तथ्यांकअनुसार यसबीचमा २१ करोड ३५ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर, माइक्रो ओभन र इन्डक्शन चूल्होलगायत सामान आयात भएका छन् । गत आव २०८०/८१ को सोही अवधिमा ११ करोड १७ लाख २८ हजार रुपैयाँको मात्रै माइक्रो ओभन, इन्डक्शन चूल्हो र राइसकुकर आयात  भएको थियो ।

पछिल्लो समय विशेष गरी गृहणीको आकर्षण ग्यासमा भन्दा इन्डक्शन चूल्हो, राइस कुकर र माइक्रो ओभन जस्ता वस्तुुमा रहेकाले तिनको आयात बढेको नेपाल विद्युतीय व्यवसायी संघका अध्यक्ष सुदर्शन पौडेल बताउँछन् । 

उनका अनुसार देशमा लोडशेडिङ नहुने र सरकारी नीति पनि खाना पकाउने ग्यासको तुलनामा बिजुली खपत बढाउने भएकाले बिजुलीबाट खाना पकाउने सामग्रीको आयात बढेको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेटमार्फत सिंहदरबारभित्र खाना पकाउने ग्यास निषेधसमेत गरेका थिए ।

चालू आवको पहिलो २ महीनामा ६१ करोड ३० लाख रुपैयाँ बराबरको वासिङ मेशिन आयात भएको विभागको तथ्यांकले देखाउँछ । गत आवको यस अवधिमा ३८ करोड १४ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै  वासिङ मेशिन आयात भएको तथ्यांकले देखाएको छ ।

चालू आवको पहिलो २ महीनामा १ अर्ब ३१ करोड ९४ लाख ५० हजार रुपैयाँ बराबरको रेफ्रिजेरेटर (फ्रिज) आयात भएको छ । गतवर्ष सोही अवधिमा करीब ५० करोड रुपैयाँ बराबरको मात्रै फ्रिज आयात भएको विभागको तथ्यांक छ ।

यसबीचमा ३६ करोड ९४ लाख रुपैयाँ बराबरको भ्याकुम क्लिनर र त्यससँग सम्बद्ध सामग्री आयात भएका छन् । गतवर्ष सोही अवधिमा करीब ६ करोड रुपैयाँको यस्ता वस्तु आयात भएको पाइएको छ ।

‘बिजुलीबाट चल्ने यस्ता वस्तुको आयात निरन्तर बढ्दै जानुको अर्थ उपभोक्ताको आकर्षण त्यसतर्फ बढ्दै गएको भन्ने हो,’ पौडेल भन्छन्, ‘लोडशेडिङ हटेसँगै नेपालमा यस्ता वस्तुको प्रयोग बढ्दो क्रममा थियो । पछिल्लो समय त विद्युत् उत्पादन पनि बढ्दै गएका बेला यसतर्फ उपभोक्ताको आकर्षण झनै बढेको छ ।’

देशमा लोडशेडिङ नहुने र सरकारी नीति पनि खाना पकाउने ग्यासको तुलनामा बिजुली खपत बढाउने भएकाले बिजुलीबाट खाना पकाउने सामग्रीको आयात बढेको हो ।

प्रतिक्रिया दिनुहोस्